राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न अध्यक्ष ओलीको अपिल



काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका छन् ।

सहिद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाको सम्मानमा ‘हाम्रो चम्किलो तारा’ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा उनले देशको हितका लागि पनि एमालेलाई मतदान गरिनुपर्ने बताए।

उनले भने, “अहिले राष्ट्रपतिको निर्वाचन आइरहेको छ, मतदान देशका लागि हुनुपर्छ। जनमतले पनि एमाले उम्मेदवारलाई सहयोग गर्नुपर्छ। किनकी एमाले देश, जनता, राष्ट्रिय स्वाधीनता, भौगोलिकताको संवर्द्धनका लागि हो। त्यसैले राष्ट्रपतिको मतदानमा एमालेका उम्मेदवारलाई मतदान गर्न म मतदातालाई आग्रह गर्न चाहन्छु ।”

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी मनोनयन गरेका छन्। एमाले अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी देशी र विदेशी प्रतिक्रियावादी शक्तिबाट खेदिएको आरोप लगाए। “अहिले सबभन्दा बढी विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी शक्तिबाट एमाले खेदिएको छ”, उनले भने ।

उनले विभिन्न बहानामा आन्दोलन र द्वन्द्व भए पनि पीडितले अझै न्याय पाउन नसकेको भन्दै सहिद, बेपत्ता र घाइते परिवारलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। उनले विभिन्न आन्दोलनका घाइतेको उपचार र पीडितलाई राहत दिन पार्टीले पहलकदमी लिने पनि बताए।

उनले नेपालमा थुप्रै खाले आन्दोलनबाट धेरै सङ्ख्यामा सहिद र बेपत्ता भएकाको पहिचान र पीडितलाई राहत दिनुपर्ने र देशका लागि लडेका योद्धा सहिदको सपना साकार पार्न सबै लाग्नुपर्ने बताए ।

संस्थाको शुभारम्मसँगै राम्रो कामको थालनी भएकामा प्रशंसा गर्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। सो अवसरमा एमाले अध्यक्ष ओलीले संस्थामा अक्षयकोषका लागि रु दुई लाख सहयोगको घोषणा गरेका छन्।

संस्थाका अध्यक्ष लक्ष्मी गुरुङले विभिन्न राजनीतिक सामाजिक आन्दोलनका सहिद परिवार र घाइतेको सम्मानमा थोरै भए पनि राहत पु¥याउने उद्देश्यले संस्थाले पहल लिएको बताए।

कार्यक्रममा विभिन्न राजनीतिक र सामाजिक आन्दोलनमा सहिद भएका परिवार र घाइतेलाई सम्मान गरिएको थियो। संस्थाका तर्फबाट एमाले अध्यक्ष ओलीले नगदसहित कदरपत्रबाट सम्मान गरेका हुन्। सम्मानित हुनेमा सहिद परिवारतर्फ विशेश्वरा दाहाल, गोमा देवकोटा, कमला सुवेदी, शान्ति पाख्रिन, सरिता अधिकारी, तीर्था गौतम, देवी सुनार तथा घाइतेमा कृष्ण अधिकारी, चित्रबहादुर घर्तीलगायत रहेका छन् ।

सो अवसरमा जनवादी कलाकार जीवन शर्माले विभिन्न गीत प्रस्तुत गरेका थिए। विशेष प्रस्तुतीका रूपमा किशोर अनुरागको निर्देशन रहेको ‘सपना’ नाटक प्रस्तुत गरिएको थियो। कार्यक्रममा कराते खेलाडीको खेल कौशल पनि प्रस्तुत गरिएको थियो ।
रासस

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : २८ बजे