जनमत पार्टी सरकारबाट बाहिरिँदैन : अध्यक्ष राउत



जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताउनुभएको छ ।

पार्टीको भातृ सङ्गठन ‘विद्यार्थी जनमत सङ्घ’को आज कोटेश्वरमा भएको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जनमत पार्टीका लागि अहिले सरकार छोड्नुपर्ने परिस्थिति नरहेको बताउनुभयो । “अहिले सरकारबाट बाहिरिने कुनै त्यस्तो परिस्थिति बनेको छैन । अरू पार्टीको माग पूरा नभएर बाहिरिएका होलान”, अध्यक्ष राउतले भन्नुभयो ।

अध्यक्ष राउतले सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि वर्तमान नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार नफेरिने उल्लेख गर्नुभयो । उहाँले आगामी राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ६ : २७ बजे