वित्तीय अराजकता निम्त्याउने अराजक तत्वलाई नियन्त्रण गर्नेछु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् । उनले देशमा वित्तिय अराजकता निम्त्याउने कोशिश भइरहेको भन्दै त्यस्ता तत्वलाई नियन्त्रण गरिने पनि बताएका छन् ।

सिंहदरबारमा आइतबार निजी क्षेत्रका प्रतिनिधिहरुसँग आयोजित छलफलमा प्रधानमन्त्रीले सारेकारवालाहरुसँग छलफल गरेर समस्या समाधानमा ठोस निर्णय गर्ने बताएका हुन् । ‘वर्तमान वित्तीय अवस्थाबारे सरकार चिन्तित छ, वित्तिय अराजकता मच्चाउने कोशिश पनि भइरहेको छ’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक व्यवसायीले भने,

‘सरोकारवालासँगको छलफलपछि सरकारले चाँडै अघि बढ्छ, ठोस निर्णय लिन्छ, त्यस्ता अराजकता पनि नियन्त्रण गरिनेछ ।’
बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको र लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेको भन्दै त्यसमा आफू अवगत भएको बताए । ‘यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेका छन् । यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु’ प्रधानमन्त्रीले भने ।

आफू प्रधानमन्त्रीमा निर्वाचित् भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको पनि उनले स्मरण गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : ५९ बजे