आइएईएका अधिकारीलाई निरीक्षणको अनुमति दिने इरानको वाचा



भिएना । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए)का निरीक्षकहरूलाई आफ्ना आणविक स्थल तथा जडान गरिने उपकरणको निरीक्षणका निम्ति अनुमति दिने वाचा गरेको छ । इरानी अधिकारीहरूले आफूसँग त्यस्तो वाचा गरेका आइएईएका प्रमुखले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकाय आइएईएका महानिर्देशक राफेल मारियानो ग्रोसीले शानिबार इरानका राष्ट्रपति इब्राहिम रायसी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।

सोही क्रममा उनीहरूले आइएईएका निरीक्षणकर्तालाई सम्बन्धित स्थानमा पहुँच दिने वाचा गरेको महानिर्देशक ग्रोसीले आज यहाँ पत्रकारहरूलाई जानकारी दिए । विगतमा राष्ट्रसङ्घीय निकायलाई ती स्थानमा इरानले पहुँच दिन अस्वीकार गरेको थियो ।

इरानले के कस्ता उपकरण पुनस्थापना गर्छभन्ने विस्तृत जानकारी भने महानिर्देशक ग्रोसीले दिएनन् । यद्यपि उनले विगतका अवरोध क्रमशः पन्छिदै गएका र केही ठोस कार्य गर्नचाहेको इरानी सङ्केत आफूले पाएको बताए । उनले इरानको आश्वासनलाई सकारात्मक मान्नुपर्ने बताए ।

तेहरानले आफ्नो विवादित आणविक कार्यक्रमको निगरानी गर्ने आइएईएका अधिकारीलाई पहुँच दिनुपर्नेमा लामो समयदेखि राष्ट्रसङ्घले माग गर्दै आएको थियो ।
रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ०५ बजे