स्पेनमा बुधबार भएको भीषण रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६९ पुगेको छ । दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान गर्न स्पेनको सिभिल गार्डले प्राथमिकताका साथ काम गरिरहेको छ ।
दुर्घटनामा आफन्त हराइरहेका परिवारलाई डीएनए नमुना संकलनका लागि स्थानीय केन्द्रमा जान आग्रह गरिएको छ । उद्धारकर्मीहरूले दुर्घटनास्थलमा भग्नावशेष खोतल्दै मृतकको पहिचान गर्न सकिने प्रमाण तथा डीएनए नमुना संकलन गरिरहेका छन् । घटनास्थलमा प्रहरीका ड्रोन, हेलिकप्टर र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।
स्पेनी सञ्चारमाध्यममा सार्वजनिक भएका अडियो रेकर्डिङले दुर्घटनाअघि रेल चालक र रेलवे नियन्त्रण केन्द्रबीच भएको कुराकानी सार्वजनिक गरेका छन् । ती रेकर्डिङअनुसार अगाडि करिब २५ किलोमिटर टाढा अर्को रेल रोकिएको अवस्थामा पनि तीव्र गतिको रेललाई अघि बढ्न अनुमति दिइएको देखिन्छ ।
स्पेनको यातायात मन्त्रालयका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबीका कारण दुई दुर्घटनाग्रस्त रेलसहित छवटा रेल रोकिएका थिए । प्रणालीमा समस्या आएपछि नियन्त्रण केन्द्रले रेल सञ्चालनको जिम्मेवारी लिने व्यवस्था रहेको यातायातमन्त्री ओस्कार पुएन्तेले बताएका छन् । तर, रेलहरूलाई पुनः सञ्चालन गर्न अनुमति दिने निर्णय कुन परिस्थितिमा गरियो भन्ने विषयमा उनले प्रश्न उठाएका छन् ।
प्रारम्भिक विवरणअनुसार म्याड्रिडबाट सेभिलतर्फ जाँदै गरेको इर्यो ६०७६ रेल बिहान ७:५४ बजे १४७ यात्रुसहित प्रस्थान गरेको थियो । त्यस्तै, रेन्फेको एभीई २०८० रेल बिहान ८ बजे ३९७ यात्रुसहित म्याड्रिडबाटै सेभिलका लागि छुटेको थियो ।
बिहान ९ बज्नुअघि टोलेडो प्रान्तको उर्दा नजिकै रोकिएको अवस्थामा रहेको इर्यो रेलको पछाडिको भागमा एभीई रेल ठोक्किएको प्रारम्भिक विवरणमा उल्लेख छ । ठक्करपछि इर्यो रेलका कम्तीमा तीनवटा डिब्बा रेलमार्गबाट खसेर भिरालो क्षेत्रमा पुगेका थिए । एभीई रेलको केही भागसमेत लिकबाट बाहिरिएको थियो ।
दुवै रेलमा गरी ५०० भन्दा बढी यात्रु सवार थिए । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।
युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक मानिएको यस घटनापछि स्पेनले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।





प्रतिक्रिया