माओवादीका आठ दलको बैठक

शान्ति सम्झौता टुङयाउने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग प्रधानमन्त्री प्रचण्डको माग



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको माओवादी केन्द्रसहित माओवादी नाम जोडिएका आठ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने घोषणा गरेका छन् ।

उनीहरुले शान्ति सम्झौतालाई टुंगोमा पुर्याउन आवश्यक कानुनी र संस्थागत व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन् । सरकारसँग यस्तो माग गर्नेका हस्ताक्षरकर्तामा प्रधानमन्त्री प्रचण्डसमेत छन् । प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि विभाजित माओवादी पार्टीका नेताहरु नजिकिएका हुन् । उनीहरु सकेसम्म पार्टी एकता गर्ने, त्यो तत्काल सम्भव नभए कार्यगत एकता र त्यो पनि नभए जनयुद्धकालिन घटनालाई माओवादीमाथि प्रहार गर्ने बिषयमा साझा मोर्चा बनाउने छलफलमा जुटेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ती पार्टीको बैठकको निर्णयमा भनिएको छ ‘विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्नेछौ ।’ बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी थिए ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा पनि आठ दल एकमत रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ११ : ५३ बजे