इराकमा बम विस्फोट


रासस

२३ फाल्गुन २०७९, मंगलबार  

0
Shares

बग्दाद । इराकमा सोमबार राति भएका बम विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ । इराकको पूर्वी प्रान्त दियालामा सो बम विस्फोट भएको यहाँको सुरक्षा स्रोतले जानकारी दिएको छ । सो विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन् ।

दियाला प्रान्तीय प्रहरीका मेजर अला अल– साउदीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकमा बम राखिएको थियो । सडक किनारामा कुनै अज्ञात समूहले बम राखेको र सो बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका पाँच जना सर्वसाधारणको ज्यान गएको हो ।

सो सडक भएर हिँडीरहेका बटुवा चार जना घाइते भएका पनि उनले जानकारी दिए । यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

इराकी प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाएको छ । पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतङ्ककारी आक्रमणहरुमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट गराएको अनुमान गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ५ : ४२ बजे