साउदी–इरान सम्झौताका निम्ति चिनियाँ मध्यस्थताको प्रशंसा



बेइजिङ । साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना गर्न चीनले निर्वाह गरेको भूमिकाको विश्व समुदायले स्वागत गरेको छ । दुई देशबीचको चिसिएको सम्बन्धलाई पुनः सुमधुर तुल्याउन चीनले गरेको शान्ति प्रयासको अन्तरराष्ट्रिय जगत्ले प्रशंसा गरेको हो ।

चीनको मध्यस्थतामा साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध पुनः कायम गर्न तेहरान र रियादबीच शुक्रबार सहमति भएको हो ।

तेहरान र रियादले चिनियाँ पक्षले गरेको सहयोगको प्रशंसा गर्दै द्विदेशीय सम्बन्धमा नयाँ अध्याय प्रारम्भ हुने आशा व्यक्त गरेका छन् । साउदी अरबका राष्ट्रिय सुरक्षा सल्लाहकार मुसाद बिन मोहम्मद अल–एबानले सम्झौताको सराहना गर्दै रचनात्मक वार्तालाई निरन्तरता दिने बताएका छन् । उनले यस सम्बन्धमा जनवादी गणतन्त्र चीनले निरन्तर निर्वाह गरेको सक्रिय एवम् सकारात्मक भूमिकाको मुक्तकण्डले प्रशंसा गरेका छन् ।

त्यसैगरी मोहम्मद अल–एबानका इरानी समकक्षी तथा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शमखानीले आपसी असमझदारी हटाउन बेइजिङले गरेको मिहेनतप्रति आभार व्यक्त ग।ेका छन्। उनले भविष्यमा तेहरान–रियाद सम्बन्ध सुदृढ भई क्षेत्रीय स्थायित्व र सुरक्षाका साथै आपसी सहकार्यमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

सचिव शमखानीले विद्यमान क्षेत्रीय चुनौती समाधान गर्न, शान्ति र स्थायित्व बढाउन, अन्तरराष्ट्रिय सहयोग प्रवद्र्धन गर्न चीनले निर्वाह गरेको रचनात्मक भूमिकाको प्रशंसा गरेको खबर इरानी सञ्चारमाध्यमले प्रकाशन– प्रसारण गरेका छन् ।

इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई), जोर्डन र इराकलगायत मध्यपूर्वका विभिन्न देश र पक्षले पनि बेइजिङ सम्झौताको स्वागत गरेका छन् । युएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गासले साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने सम्झौताको स्वागत गर्दै त्यस निम्ति भएको चिनियाँ पक्षले गरेको योगदानको सराहना गरेका छन्।

असल छिमेकीको अवधारणालाई सुदृढ गर्न, साझा आधारबाट सबैका लागि स्थिर भविष्य निर्माण सुरु गर्न यस क्षेत्रका देशबीचको सकारात्मक सञ्चार र संवादको महत्वप्रति युएई विश्वस्त रहेको बताइएको छ ।

यसैबीच, संयुक्त राष्ट्र सङ्घले कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न साउदी–इरान सम्झौताको स्वागत गरेको छ भने उक्त प्रक्रियामा चीनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ ।

“महासचिवले द्विपक्षीय सम्झौताको स्वागत गर्दै दुई देशबीचको वार्तालापलाई बढावा दिन जनवादी गणतन्त्र चीनले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ,” महाचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकले ओमान र इराकजस्ता अन्य देशको प्रयासको प्रशंसा गर्दै भनेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ४ : १५ बजे