चलायमान बन्दै अन्नपूर्ण पदमार्ग



मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष हिमपात भएन । हिमपात नहुँदा हिउँ छुन र खेल्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो । तर, वसन्त ऋतु सुरु भएसँगै हिमपात हुुँदा अहिले पर्यटकको आवागमन बढेको छ ।

पर्यटकको आवागमनले अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । बेमौसममा सुनसान रहने मनाङ अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् । हिमपात भएको अवस्थामा पदयात्रा गर्दा जोखिम मोल्नुपर्ने भए पनि यसवर्ष त्यस्तो जोखिम छैन ।

अहिले जोखिम नहुँदा पर्यटकलाई पदयात्रा गर्न सहज भएको छ । पदमार्गअन्तर्गत लमजुङको बेसीशहरदेखि पर्यटक पैदलयात्रा गर्ने पर्यटकको सङ्ख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङले जनाएको छ ।

सिजन सुरु भएसँगै मनाङमा पर्यटकको चहलपहल बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार दैनिक रुपमा ५० भन्दा बढी पर्यटक मनाङ भित्रिन थालेका छन् ।

सन् २०२३ को सुरुआतमै ४२ देशका पर्यटक मनाङ भित्रिएका छन् । सन् २०२३ पहिलो महिना जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश अनुमति लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएका थिए । “विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुने हो, तर यसवर्ष पर्न सकेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो, सिजन सुरु भएपछि अहिले पर्यटक मनाङ भित्रिन थालेका छन्”, गौतमले भने ।

नयाँ वर्षको योजनाअनुरुप दक्षिण कोरियाका पर्यटक मनाङ भ्रमणमा आएको उनले बताए । कोरियन नागरिक यहाँभन्दा बढी चिसोमा बसिरहेका हुन्छन्, जसले गर्दा हिउँदमा कोरियाका पर्यटक बढी आउने गरेको उनको भनाइ छ । हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताललगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको उन बताए । “विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिन्छौं । यो मार्ग जोखिमयुक्त भएकाले जानकारी पनि दिन्छौ”, गौतमले भने ।

हिमपात भएपछि हिउँ पहिरो आउन सक्ने भएकाले पूर्णरुपमा यात्रा रोकिने उनले जानकारी दिए ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकन सहित यात्राको सुरुवात गर्दछन् ।

मनाङमा दुई वटा सिजनमा पर्यटक आउँछन् । सिजनअनुसार तिर्नुपर्ने रकम पनि फरक–फरक निर्धारण गरिएको छ । नार्पाभूमि गाउँपालिकाका सबै क्षेत्र र नासों गाउँपालिकाका ६ र ७ नम्बर वडामा घुम्दा सेप्टेम्बरदेखि नोभेम्बरसम्म अलि महँगो पर्दछ ।

एक साताको एक सय अमेरिकी डलर तथा त्यसपछि थप्नुपर्दा प्रतिदिन १५ अमेरिकी डलर तिर्नुपर्छ । डिसेम्बरदेखि अगस्टको सिजनमा एक साताको ७५ अमेरिकी डलर तथा त्यसपछि दैनिक १५ अमेरिकी डलर तिर्नुपर्ने प्रावधान निर्धाण गरिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १२ : १६ बजे