आइसीसी विश्वकप लिग २ : युएईसँग आज अन्तिम खेल, जित्नैपर्ने दवावमा नेपाल



काठमाडौं– आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय (ओडिआई) सिरिज अन्तर्गतको नेपालले आज युएई सँग अन्तिम खेल खेल्दैछ ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ः३० बजेबाट खेल सुरू हुँदैछ । युएई विरुद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थान उक्लनेछ । त्यसपछि तीन महिनापछि जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायर मा सोझै छनोट हुनेछ ।

नेपालले पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाएको थियो । त्यसयता नेपालका लागि यो सबैभन्दा ठूलो सफलतासमेत हुनेछ । एक महिना अगाडिसम्म एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता जोगाउनसमेत मुस्किल थियो ।
कुल ७ टिम सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा छ । ३५ खेल खेलेको नेपालले १८ मा जित र १५ मा हारसहित ३८ अंक जोडेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल विजयी भएमा ४० अंक हुनेछ । तर कुनै कारण खेल नतिजाविहीन हुँदै अंक बाँड्नुपर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ । नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ८ : ४६ बजे