आज उपराष्ट्रपतिको निर्वाचन, परिणाम साँझ ६ बजेभित्रै आउने



काठमाडौं– आज उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी छ ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीर्की ममता झा गरी चार उम्मेदवार छन् । प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेपनि मतपत्रमा उनको नाम उल्लेख छ ।

उपराष्ट्रपतिका लागि संघीय संसद् र प्रदेशसभा सदस्यले मतदान गर्छन् । कार्यालयका अनुसार, संघीय सांसदले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभा सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ४२ बजे