राष्ट्रिय एकतालाई मजबुद बनाउँछु: नवनिर्वाचित उपराष्ट्रपति यादव

राजनीतिक जीवन अघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित थिए नवनिर्वाचित उपराष्ट्रपति



काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवर्द्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, “मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु ।”

यादव जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका थिए। उनले सङ्घीय संसद्तर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ मत (कूल ३० हजार तीन सय २८ मतभार) प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा)ले सङ्घतर्फ एक सय चार र प्रदेशतर्फ एक सय ६९ (कूल १६ हजार ३२८ मतभार) प्राप्त गरेकी छन् ।

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र दिएका छन् । नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले बधाई दिएका छन्।

उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी
यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती दुई छोरा र एक छोरी छन् ।

उनी विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए । यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाएका उनी राजनीतिक जीवन अघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित थिए । बारा कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उनी विज्ञान र गणित विषयको शिक्षक थिए ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी उच्च शिक्षा लिई भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनी २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका थिए ।

सो पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता हुन् ।

राजनीतिका क्रममा उनको भेट उपेन्द्र यादवसँग भएपछि उनी २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध भएका थिए । त्यसपछि उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भएका थिए भने विसं २०६५ मा उनी पार्टी महासचिव भएका थिए । यादव स्वच्छ तथा इमान्दार छविका नेताका रुपमा परिचित छन् ।

उनी विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका उनी हाल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेताको भूमिकामा समेत थिए ।

पार्टी तथा सरकारको प्रतिनिधि भई उनले हालसम्म संयुक्त राज्य अमेरिका, पोल्याण्ड, चीन, संयुक्त अधिराज्य, बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स)लगायत देशको भ्रमण गरिसकेका छन्।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : १८ बजे