प्रचण्डले राजनीतिमा बिचित्रको लिला देखाए : मोहन बैद्य

प्रचण्डले जनताको विश्वास पुरै गुमाए



काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको बताएका छन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर फेरि ओलीको शरणमा परेको, सरकार बनाएको तर टिकाउन नसकेर फेरी देउवाको शरणमा परेको बताए ।
‘चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरुद्ध जाने हो । संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरु एकदम कुर्लिएर आए । जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाए, ल हेर्नुस् । यहाँ भन्दा विचित्र के हुन्छ ? बैद्यले भने, ‘त्यो सरकार त टिकाउनुपर्ने हो नि एमालेसँग बसेर । टिकाउन नसकेर फेरि कांग्रेसतिर गए । यहाँ भन्दा राजनीतिक विचित्रता के हुन्छ ? राजनीतिमा लिला भइसक्यो । यस्तो चालले अब चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्नेवाला छैनन ।’

उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको टिप्पणी गरे । उनले कांग्रेस पुरै असफल र कम्युनिष्ट आन्दोलनको नेताहरु गद्दार भएको आरोप लगाए । नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : ०६ बजे