एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ: महासचिव पोखरेल



देउखुरी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए ।

उनले राष्ट्र बनाउने सवालमा सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए । उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे ।

उनले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्ने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १२ : ३८ बजे