मिटरव्याज पीडितको प्रदर्शन टंगालमा, रविले भने : जाली तमसुक च्यातिनुपर्छ



काठमाडौं– मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बस्न नदिएपछि सडकमै रात कटाएका उनीहरु आज विहानै प्रधानमन्त्री निवास वालुवाटारतर्फ गएका थिए । न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् ।

बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई प्रहरीले निषेधित क्षेत्रतर्फ जान रोकेपछि टंगालमै बसेर प्रदर्शन गरेका हुन् । उनीहरु सडकमै बसेर न्याय माग्दै नाराबाजी गरिरहेका छन् । उनीहरुले तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीविरुद्धको कानुन निर्माण गर लगायतका नारा लगाएका छन् ।

छ महिनाअघि पनि काठमाडौं आएर प्रर्दशन गरेका उनीहरुसँग सरकारले समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको थियो तर कार्यान्वयन भने गरेन । सरकारले यी गरिवलाई बचन दियो तर सहयोग गरेको छैन । त्यसैले फेरी काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

यसैविच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टंगाल पुगेर मिटरब्याज पीडितहरुलाई समस्या समाधानमा सहयोग गर्ने जनाएका छन् । तर कसरी सहयोग गर्छन त्यो भने उनीहरुलाई खुलाएनन् । सरकारले पीडितहरुको मागलाई तुरुन्त समाधान गरोस् भन्ने आफूले चाहेको बताएका छन् । ‘कसैको समर्थन र कसैको विरोध भन्दा पनि समाधानको पहल गर्न आएको हुँ,’ उनले त्यहाँ भने ।

गृहमन्त्री भएको बेला मिटरब्याज पीडितहरुको समाधान गर्न पहल गरेको दावी उनले गरे । ‘जाली तमसुक च्यातिनुपर्छ, गरिबलाई ऋणमुक्त बनाउनुपर्छ । त्यसका लागि मैले हस्ताक्षर गरेर हुने भए अहिले यहीँ नै हस्ताक्षर गर्न तयार छु’ उनले भने ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : १० बजे