मिटरब्याज पीडितको समस्या समाधान गर्न समिति गठन, प्रधानमन्त्रीसँग पनि भेट्दै



काठमाडौं– सरकारले मिटरब्याज पीडितको मागबारे बुझ्न चार सदस्यीय समिति गठन गरेको छ । साथै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज पीडितसँग भेट्ने तयारी पनि छ ।

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।

यो समितिले वार्ता गरेपछि मिटरब्याज पीडितसँग प्रधानमन्त्रीले भेट्ने बताइएको छ । प्रधानमन्त्रीले पीडितसँग भेटेपछि आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्नेसम्मको तयारी छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १२ : ३७ बजे