मन्त्रालयको भागवण्डा करिव मिल्यो, कुन मन्त्रालयलाई कसलाई अझै मिलेन



काठमाडौं – सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डाको लगभग टुँगो लागेको छ तर कुन मन्त्रालय कुन पार्टीलाई भने अझैं टुँगो लागेको छैन ।

बुधबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा मन्त्रालय भागबण्डाबारे मोटामोटी सहमति भएको बताएका छन्, यद्धपी भोलिसम्ममा तलमाथि हुनसक्ने सम्भावना रहेको पनि बताएका छन् ।
वैठकमा सहभागि एक नेताका अनुसार, नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा( ले २, २ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १, १ मन्त्रालय पाउनेछन् । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलाई पनि सरकारमा सहभागी गराउने तयारी भएको छ । यो विभाजनमा एकीकृत समाजवादीसहितका साना पार्टीले अझै चित्त बुझाएका छैनन् ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले बिहीवार साँझसम्म मन्त्रिपरिषद बिस्तार गर्ने सहमति भएको बताएका छन् । ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका पनि भएपनि उनी भाका फेरका फेरै छन् । प्रधानमन्त्री भएको सय कट्दा पनि प्रधानमन्त्रीको पहिलो एकमात्र काम भनेको गठवन्धन बनाउनु र भत्काउनुमै सिमित रहेको छ । सार्वजनिक गरेको समयभित्र सरकार विस्तार गर्न नसकेपछि प्रधानमन्त्रीले गठवन्धनका पार्टीहरुबाट एक एक जना भएपनि सहभागि गराएर आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रयास गरेका थिए, त्यो पनि सफल हुन सकेन ।

प्रधानमन्त्रीले एक एक जनाको नाम भागेपछि गठवन्धनका दलहरुबीच त्यसलाई लिएर फरक धारणा आएका थिए । एकीकृत समाजवादीले एकजना भएपनि सरकारमा पठाइहाल्ने भन्दै प्रकाश ज्वालाको नाम पठाउने तयारी गरेको थियो भने अन्य साना दलपनि तयारीमा थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले एकजना पठाउनु उपयुक्त नहुने भन्दै एकैपटक आफ्नो भागमा परेका मन्त्रीको नाम दिने बताएका थिए । त्यसपछि आज एकचरणको मन्त्रिपरिषद् विस्तार रोकियो ।

पछिल्लोपटक सत्तावाहिर बस्न नसक्ने निश्कर्षमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने जानकारी प्रधानमन्त्रीलाई गराइसकेको छ । तर त्यसका अध्यक्ष रवि लामिछाने सांसद नरहेका कारण बैशाख १० को उपनिर्वाचनसम्म पर्खने कि भन्ने दुविधामा छन् । लामिछाने भने उपनिर्वाचन अघिनै पार्टीको नेतृत्व गरेर सरकारमा जान इच्छुक देखिएका छन् । रास्वपा पछि सरकारमा जाने भएपनि सिट भने उनीहरुलाई छुट्याएर राख्न प्रधानमन्त्री तयार देखिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : १७ बजे