एकीकृत समाजवादी र माओवादीका नेता कार्यकर्तालाई एमालेमा आउन ओलीको आव्हान

उचित जिम्मेवारी दिऔं



रूपन्देही — नेकपा एमालेले माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेका नेता र कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएर उचित जिम्मेवारी दिने तयारी गरेको छ । अहिले एकीकृत समाजवादी र माओवादी केन्द्रबाट एमालेमा आउने तयारीमा बिभिन्न नेताहरु रहेको पनि पार्टीले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कम्युनिष्ट भन्ने तर कांग्रेसका पछि पछि दुगर्ने ती पार्टीका नेतृत्वबाट असन्तुष्ट भएका इमान्दार र सच्चा कम्युनिष्टलाई एमालेमा आउन आब्हान गर्दै उचित जिम्मेवारी दिने घोषणा गरेका हुन् ।

पार्टीले संचालन गरिरहेको मिसन ग्रासरुट अभियानलाई बुधबार बुटवलमा सम्बोधन गर्दै ओलीले माओवादी र नेकपा एसका केही नेताहरुले कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाइरहेकाले इमानदार नेता कार्यकर्ता दुबै पार्टीमा अब बस्न नसक्ने भन्दै उनीहरु अन्तत एमाले आउने बताए । उनले नेता र कार्यकर्तलाई त्यस्तो वातावरण बनाउन पनि आग्रह गरे । खराब आचरणका नेताहरुले भ्रममा राखेकाले इमानदार नेता कार्यकर्तालाई दुवै पार्टीका नेताहरुको भ्रमबाट मुक्त गरेर एमालेमा जिम्मेवारी दिन अध्यक्ष ओलीले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत भनेर राखेका छन्, उनीहरु फाटोवादी हुन्, अनि कम्युनिस्टको सरकार ढलाएर कांग्रेसको सरकार बनाउन बिन्ति बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बनेर कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नाम चाहिँ समाजवादी राखेर भ्रमित बनाउने ?,’ ओलीले भने, ‘त्यसैले त्यहाँ रहेका इमानदार कार्यकर्तालाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं ।’
उनले हिजोका कमीकमजोरी भुलेर अब एमालेमै गोलबन्ध गर्ने अभियानमा लाग्न पनि एमाले नेता कार्यकर्तालाई ओलीले निर्देशन दिए । एमालेले कसैलाई काखा र पाखा नगर्ने पनि उनले बताए ।
अहिले पनि कम्युनिस्टको नाममा शरीरभरि गोली बोकेर, अंगभंग भएर परिवारका सदस्य गुमाएर बसेका नेता र कार्यकर्ता माओवादी रहेको भन्दै उनीहरुलाई एमालेले हेर्ने बताए । प्रचण्डसहितका नेताहरुलाई मस्ती छ, अब ती कार्यकर्ताको चेत खुलाउनेगरी अभियान थाल्नुपर्दछ, भ्रमबाट मुक्त गर्नुपर्दछ,’ उनले भने, ‘माओवादीमा नेता खराब छन्, कार्यकर्ता इमानदार छन, उनीहरुलाई पार्टीमा ल्याएर जिम्मेवारी दिएर घुलमिल गराऔं ।’

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : २३ बजे