इन्दोर मन्दिर दुर्घटनाः छत्तीस जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता



इन्दोर, (मध्यप्रदेश) । रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए । इन्दोरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा दर्ता गरिएको बताएका छन् ।

घटनाबारे जानकारी पाउने वित्तिकै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान तथा गृहमन्त्री नरेन्द्र मिश्र घटनास्थल पुगेका थिए । उनीहरूले द्रुत गतिमा उद्धार गर्न निर्देशन दिँदै घाइतेहरूको निःशुल्क उपचार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।

राज्य सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १ : ४२ बजे