रास्वपाका उम्मेदवारलाई टिकट



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।

रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गरेका छन् ।

सो अवसरमा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचित भएर हामी तीन भाइसँगै सांसदका रुपमा उभिनेछौँ ।” सभापति लामिछानेले मुलुकको सेवा गर्न तयार क्षमतावान व्यक्तित्वहरू आफ्नो पार्टीबाट निर्वाचित हुने दाबीसमेत गरे । उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।”

रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्लेले नयाँ राजनीतिक युगको सुरुआत गर्दै देश विकासका लागि एकजुट भएर उम्मेदवारी दिएको बताए । यस्तै अर्का उम्मेदवार रमेश खरेलले देश विकासका लागि आफूहरू एकजुट भएको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : २३ बजे