पूर्वराजा ज्ञानेन्द्र शाहले भने : राष्ट्र हाम्रो ब्रम्ह, जनता हाम्रा बिधाता



इनरुवा – पूर्वराजा ज्ञानेन्द्र शाहले आलटाल र टालटुलको प्रणालीले खंदिलो परिणाम दिन नसक्ने बताएका छन् । उनले राष्ट्रलाई सर्वाेपरी राखेर अघि बढ्न सबैलाई आग्रह पनि गरे ।

उनले आज इनरुवामा आयोजना गरिएको ‘नागरिक अभिनन्दन’ मा उनले लिखित संवोधन गरे, जसमा दलहरुप्रति परोक्ष आक्रोस छ ।

शाहले तन, मन र धनमा लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भएको भन्दै परिवर्तन देखाउने नाममा भइरहेका कोरा र सतही खेल, आलटाल र टालटुलको प्रणालीले खँदिलो परिणाम दिन नसक्ने बताए ।
‘अहिले त्यत्ति परिवार, समूह, दल, गुट, उपगुटमा अल्झिएर प्रणाली चलिरहेको छ । यसले हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्दैन’ शाहले भने ।

शाहले राष्ट्र, राष्ट्रियता, स्वाभिमान अखण्डता र सार्वभौमिक स्वतन्त्रता कायम गर्नुपर्ने बेला आएको बताए । सुशासन र शान्तिको माध्यमबाट चौतर्फी विकासको बोटमा लाग्नुपर्नेमा उनले जोड दिए ।

‘राष्ट्र नै हाम्रो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन् । यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहं धर्म हो,’ उनले भने, ‘त्यसैले व्यक्ति, परिवार, समूह, गुट र उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्छ ।’

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ६ : ५५ बजे