लुम्बिनीमा भेटी र दानबापत थन्किएका विदेशी मुद्रा सटही हुने



भैरहवा । लुम्बिनीमा दानका रूपमा जम्मा भएका विदेशी मुद्रा सटही हुने भएको छ । लामो समयदेखि सटही नभएको विदेशी मुद्रा सटही गर्न नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ ।

बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सङ्कलित विभिन्न २० वटा देशका विदेशी मुद्रामात्र सटही गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

लुम्बिनीमा भेटी र दानबापत जम्मा भएको विदेशी मुद्रामा सबैभन्दा धेरै म्यानमारको रहेको कोषका कोषाध्यक्ष भट्टराईले बताए । यस्तै, श्रीलङ्का, मेक्सिको, इराक, ब्रुनाई, लेवनान, पेरु, युगान्डा, भियतनाम, बङ्गलादेश, इन्डोनेसिया, ओमानलगायतका मुलुकको मुद्रा रहेको उनको भनाइ छ ।

राष्ट्र बैंकको परिवत्र्य सूचीमा नपरेका लुम्बिनी मायादेवी मन्दिरमा दानबापत चढाइएका मुद्रा लामो समयदेखि सटही नभएर कागज बराबर भएको थियो । लुम्बिनी विकास कोषले पटकपटक पहल गरे पनि परिवत्र्य सूचीमा नभएकाले सटहीका लागि समस्या भएको थियो ।

राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषसँग सम्झौता भएसँगै आर्थिक वर्ष २०७१ ७२ देखि सटही हुन नसकेको करिब रु ७४ लाख बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा जाने भएको छ ।

विभिन्न मुलुकबाट लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको भेटी रकम राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफूहरूको पटक पटकको अनुरोधपछि सटही हुने अवस्थामा आएको कोषका कोषाध्यक्ष भट्टराईले बताए । “राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रुपन्देही आएको बेला भेटीबापतको रकम सटही नभएको कुरा राखेका थियौँ, ध्यानार्कषण पत्र पनि बुुझायौँ, राष्ट्र बैंकले सटही गर्ने सैद्धान्तिक सम्झौता भएको छ”, कोषाध्यक्ष भट्टराईले भने । कोषले सङ्कलित विभिन्न ३९ देशका विदेशी मुद्रा सटहीका लागि एक हप्ताभित्रमा राष्ट्र बैंक पठाउने उनले बताए ।

परिवत्र्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या भए पनि अब सटहीका लागि प्रक्रिया अघि बढाइने राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताए । कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिङ्गापुरस्थित एजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने उनले बताए । उनका अनुसार यो रकम सटही भएपछि तीनदेखि चार महिनाको अवधिमा लुम्बिनी विकास कोषको खातामा जम्मा हुनेछ ।

लुम्बिनीको मायादेवी मन्दिर, अशोकस्तम्भलगायतका क्षेत्रमा राखिएका दानपेटीमा जम्मा भएको विदेशी मुद्रा लामो समयदेखि सटही हुन सकेको थिएन । अहिले विदेशी मुद्रा सटही हुने भएपछि यसले लुम्बिनी विकास कोषको टाउको दुखाइ कम भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ५३ बजे