बङ्गलादेशमा दुई आदिवासी समूहबीच भएको झडपमा आठ जनाको मृत्यु



ढाका । बङ्गलादेशको अशान्त चटगाउँ पहाडको एक दुर्गम सहरमा दुई आदिवासी विद्रोही समूहबीच भएको गोली हानाहानमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

गत अक्टोबरदेखि पर्यटकका लागि बन्द रहेको रोनवागन्छरी सहरमा सुरक्षा फौजले विद्रोही समूह कुकी–चिन नेसनल फ्रन्ट (केएनएफ) विरुद्ध कारबाही सुरु गरेपछि झडप भएको थियो ।

यस अभियानले सयौं आदिवासीहरूलाई विस्थापित गरेको छ । यसका कारण कैयौँ व्यक्ति धेरै दिनसम्म पैदल हिंडेर सीमा पार गरेको र उत्तरपूर्वी भारतको एक दुर्गम कुनामा शरण लिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरी प्रमुख तारिकुल इस्लामले एएफपीलाई बताएअनुसार दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच बिहीबार राति झडप भएको थियो र अधिकारीहरूले शुक्रबार बिहान आठ जना आदिवासीको शव फेला पारेका थिए ।

“उनीहरू सशस्त्र झडपमा मारिएको इस्लामले एएफपीसँग बताए ।

उनका अनुसार आक्रमण भएको खामताङपाडा गाउँमा करिब ६० जना आफ्नो घर छोडेर भागेका छन् ।

नाम नबताउने शर्तमा अर्का प्रहरी अधिकारीले एएफपीलाई बताएअनुसार मृत्यु हुनेमा बावम नामको सानो क्रिश्चियन आदिवासी समुदाय रहेको छ ।

उनीहरू केएनएफका संदिग्ध सदस्यहरू थिए जसलाई युनाइटेड पिपुल्स डेमोक्रेटिक फ्रन्टको विभाजित गुटले गोली हानेर मारेको थियो ।

गत महिना बङ्गलादेशी सेनाले केएनएफले आफ्ना एक सैनिकको हत्या गरेको र अर्का एक जनालाई घाइते बनाएको आरोप लगाएको थियो ।

¥यापिड एक्सन बटालियन (आरएबी) प्रहरी एकाइले केएनएफले इस्लामी अतिवादीहरूलाई आश्रय र प्रशिक्षण दिएको आरोप पनि लगाएको छ ।

बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्र रहेको चटगाउँ पहाड दुई दशक लामो विद्रोहको स्थल थियो जसले हजारौं सर्वसाधारणको ज्यान लिएको थियो ।

सन् १९९७ मा भएको शान्ति सम्झौतासँगै औपचारिक रूपमा द्वन्द्व अन्त्य भए पनि त्यस क्षेत्रमा कम्तीमा छ वटा सशस्त्र समूह सक्रिय रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : २५ बजे