युक्रेनी उपविदेशमन्त्री वार्ताका लागि भारत आउँदै



नयाँदिल्ली । युक्रेनकी प्रथम उपविदेशमन्त्री एमिने झापरोभा भोलि आइतबार भारतको भ्रमणमा आउने भएकी छन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको भ्रमण गर्ने उनी पहिलो युक्रेनी मन्त्री हुन् ।

रुसबाट तेलका साथै सैन्य उपकरण आयात गर्दै आएको भारत मस्कोमाथिको निर्भरताबाट उम्कन सकेको छैनभने पश्चिमा मुलुकहरूबाट एक्लिएको रुससँगको सम्बन्ध सन्तुलन नयाँदिल्लीका निम्ति चुनौतीपूर्ण बनेको छ । मस्कोसँगको लामो समयदेखिको सुरक्षा सम्बन्धले नयाँदिल्लीलाई जटि कूटनीतक स्थितिमा पु¥याएको छ । भारतले युक्रेन र रुसबीचको वैमनस्यातापूर्ण सम्बन्धको अन्त्य हुनुपर्नेमा जोड दिए पनि रुसी आक्रमणको आजसम्म निन्दा गरेको छैन ।

दिल्लीमा रहँदा उपविदेशमन्त्री झापरोभाले विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग युक्रेनको वर्तमान अवस्थाका बारेमा विचार आदानप्रदान गर्ने भारतको बाह्य मामिला मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनसँगको भारतको मैत्रीपूर्ण सम्बन्ध तथा साझा चासोका विषयमा बहुपक्षीय एवम् द्विपक्षीय मञ्चहरूमा सहकार्य हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा उपविदेशमन्त्रीको यो भ्रमण आपसी समझदारी र चासोका मामिलामा छलफल गर्न महत्वपूर्ण अवसर हुने बताइएको छ । उनले प्रधानमन्त्री नरेन्द्र मोदी वा उनको सरकारका मन्त्रीहरूलाई भेट्नेबारेमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।

यसैबीच द हिन्दुको आजको संस्करणमा युक्रेनी उपविदेशमन्त्रीले दिल्लीमा वरिष्ठ सञ्चारकर्मी तथा विद्वत्वर्गसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने समाचार प्रकाशन गरेको छ । साथै उनले प्रधानमन्त्री मोदीलाई युक्रेन भ्रमणका निम्ति आमन्त्रण गर्ने सम्भवना रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : १७ बजे