गोप्य दस्तावेज चुहाएको अभियोगमा सैनिक युवक पक्राउ



वासिङ्टन । युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ । उनी मासाचुसेट्स एयर नेशनल गार्डमा कार्यरत थिए ।

चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशङ्कित तुल्याएको छ । ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस रुस अनुकूल बनेको, उनका गतिविधि पनि निगरानी गरिएको, उनका सहयोगीबीच भएका व्यक्तिगत संवाददेखि दिएर युक्रेनमा विदेशी फौज सक्रिय रहेका विषय इन्टरनेटबाट चुहिएका थिए ।

युक्रेनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकाको सहयोग, बेलायत र दक्षिण कोरियालगायत युरोपका केही मुलुकको युक्रेन युद्धप्रतिको दृष्टिकोणलगायत गुप्तचर निकायका विश्लेषण ज्याकले चुहाएको आरोप छ ।

अमेरिकी रक्षा मन्त्रालयले जानाजान गोप्य सूचना चुहाइएको बताउँदै अभियुक्तलाई फौजदारी अभियोग लगाइने बताएको छ । सङ्घीय जाँच ब्यूरोका अधिकारीहरूले ज्याकमाथि अनुसन्धान थालिएको बताएका छन् भने महान्याधीवक्ता मेरिक गारल्याण्डले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य एवम् संवेदनशील दस्तावेज चुहाएको आरोपमा मुद्दा दायर गरिने बताएका छन् । अधिकारीहरूका अनुसार उनलाई आजै अदालतमा उपस्थित गराइने सम्भावना छ ।

यसैबीच, आयरलाण्डको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक भएका रक्षा मन्त्रालयका गोप्य दस्ताबेजले गम्भीर परिणाम ननिम्त्याउने बताएका छन् । गोप्य एवम् संवेदनशील सरकारी कागतपत्र सार्वजनिक भएपछि पहिलोपटक प्रतिक्रिया दिँदै उनले चुहिएका दस्तावेजमा समसामयिक विषयमात्र भएकाले त्यसको असर खासै नपार्ने बताए । चुहिएका दस्तावेजका विषयवस्तुबारे आफूलाई जानकारी भएको बताउँदै उनले तिनमा भयानक परिणाम निम्त्याउने विषयवस्तु नभएको बताए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १ : २० बजे