आज आठौंपटक मन्त्रिपरिषद् विस्तार, एनपी साउद परराष्ट्रमन्त्री बन्ने



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । आठौंपटक हुन लागेको यो विस्तारमा एनपी साउदले परराष्ट्रमन्त्रीको सपथ लिने बताइएको छ । अरु मन्त्रीहरुको वारेमा कांग्रेस नेताहरु छलफलमा छन् ।

नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ । उपनिर्वाचनपछि भारतको औपचारिक भ्रमण गर्ने तयारीका रहेका प्रधानमन्त्री प्रचण्डले भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री नियुक्ति गर्न चाहेका हुन् । अन्य मन्त्रीका वारेमा सहमति नभएपनि परराष्ट्रमन्त्रीमा साउदलाई पठाउने सहमति भएपछि उनलाई मात्र भएपनि सपथ गराउने तयारी भएको हो ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला पाँच मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए । साउद परराष्ट्रमन्त्री बनेपछि पनि प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् ।

प्रधानमन्त्री प्रचण्ड उपनिर्वाचन अघि नै भारतको भ्रमणमा जान चाहेका थिए । तर भारतले तयारी नपुगेको र एजेण्डा छलफल गर्न समेत समय नभएको बताएपछि भ्रमण रोकिएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ५५ बजे