मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत



गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशसभाबाट विश्वासको मत लिन सकेनन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्ताव सभामा बहुमतले अस्वीकृत भएको हो । उनले गरेको विश्वासको मतको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको थियो । प्रस्तावका पक्षमा नेकपा (एमाले)का २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जनाले मतदान गरेका थिए । विपक्षमा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र स्वतन्त्र एक गरी ३५ मत गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका आठ जना सभा सदस्यमध्ये एक सभामुख रहेका छन् ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएसँगै गण्डकीमा अब अर्को सरकार बन्ने छ । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ जना प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : १३ बजे