वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रह

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपाने एमालेमा फर्किएका छन्



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहनेलाई एमालेमा आउन आग्रह गरेका छन् । ललितपुरस्थित पार्टी मुख्यालयमा नेकपाको हिरक महोत्सव (७५औँ स्थापना दिवस) समारोहमा उनले सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहने देशभक्तलाई एमालेमा आउन आग्रह गरे ।

उनले कम्युनिष्ट पार्टी स्थापना भएसँगै नेपालमा कम्युनिष्टमाथि पटक–पटक प्रहार भएको बताए । “नेपालमा कम्युनिष्ट पार्टी जन्मेदेखि प्रहार आएको आयै भयो । हाम्राविरुद्ध षड्यन्त्र भए । हामीले बलिदान दिनपर्‍यो । तर हामी कम्युनिष्ट लडेको लड्यै गर्‍यौ”, उनले भने, “अनेक प्रकारका दुःखकष्ट झेल्नुपर्‍यो । तर पनि हामीले कम्युनिष्ट आन्दोलनलाई भने अगाडि नै बढायौँ ।”

उनले पछिल्लोपटक २०७७ सालमा पनि नेकपामाथि आक्रमण भएको बताए । तर पनि ती सबै अवस्थालाई पार गरेर एमाले अहिले ठूलो पार्टी भएको उनको भनाइ छ । अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनेसमेत दाबी गरे । उनले कम्युनिष्ट स्थापना ७५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा पार्टीले उत्सवको वर्षका रूपमा मनाइनेसमेत जानकारी दिए ।

उनले हामी बलियो भयौं भने मित्रराष्ट्रले पनि खोजीनीति गर्ने भएकाले एमाले बलियो हुनुको विकल्प नभएको बताए । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जनगोविन्द वैद्य र नारायण विलासले नेपालमा पहिलोपटक २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भारतको कलकत्तामा गरेका थिए ।

अध्यक्ष ओलीले देशको विकासका लागि कस्तो नीति अख्तियार गर्नुपर्दछ भन्ने कुरा एमालेले देखाएकाले एमाले यस देशको नायक पार्टी भएको उल्लेख गरे । उनले नेपालको कम्युनिष्टलाई दुईतिहाइ पुर्‍याएको तर त्यो विभिन्न प्रतिक्रियावादीले ध्वस्त पारेको बताए ।

अध्यक्ष ओलीले मिसन ग्रासरुट अभियानले देशभरका नेता–कार्यकर्तामा नयाँ उत्साह थपेको बताए । “दुई महिना हामीले मिसन ग्रासरुट अभियान सञ्चालन गर्‍यौँ, देशभर एउटा नयाँ उत्साह, नयाँ ऊर्जा आएको छ”, उनले भने, “अभियानमा हामीले पार्टीको यथार्थ स्थितिको आकलन गर्ने, अवस्था थाहा पाउने, नाडी छाम्ने मौका पनि पायौँ । समस्या के छ ? कस्तो प्रकृतिको छ ? त्यसको समाधान कसरी गर्नुपर्ने हो आदि कुरा हामीले चिन्ने जान्ने मौका पायौँ ।”

अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ कसरी पार्ने भनेर योजना बनाएर काम थालिने भनाइ राखे । उनले एक वर्ष अन्तरघाती नगर्न र एकअर्काको कुरा नकाट्नसमेत नेता, कार्यकतालाई आग्रह गरे । उनले नेता तथा कार्यकर्तालाई यस वर्षभर सबै बुद्धि, विवेक र शक्ति प्रयोग गरेर कम्युनिष्ट आन्दोलनलाई मजबुत, सुदृढ र शुद्धीकरण गरिने बताए ।

कार्यक्रममा महासचिव शङ्कर पोखरेलले हिरक वर्षमा पार्टी गतिविधि प्राथमिकतामा राख्दै उत्सवको रूपमा मनाइनेसमेत बताए । उनले एमालेलाई षड्यन्त्र गरे पनि जनताको रोजाइको पहिलो पार्टी भएको बताए । सोही कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपाने एमालेमा फर्किएका छन् । अध्यक्ष ओलीले नेता न्यौपानेसहित केही एकीकृत समाजवादी परित्याग गरेका नेतालाई प्रवेश गराएका छन् । न्यौपानेसहित एकीकत समाजवादीका नेता चुडामणि जङ्गली, मुना बानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वरदयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ एमालेमा फर्केका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : २४ बजे