खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ



दिल्ली । खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गत मार्च १८ देखि फरार थिए । पञ्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको सङ्गठन ‘वारिस पञ्जाब दे’ विरुद्ध कारबाही शुरु गरेको थियो ।

अमृतपाल सिंहलाई राष्ट्रिय सुरक्षा ऐन (एनएसए)अन्तर्गत पक्राउ गरिएको हो । सिंह र उनका सहयोगीहरूमाथि वर्ग विभेद फैलाएको, ज्यान मार्ने प्रयास गरेको, प्रहरीमाथि हमला, सरकारी कर्मचारीका कानुनी काममा बाधा पुर्‍याएको अभियोगमा फौजदारी मुद्दा चालाइएको थियो ।

गत मार्च २८ मा अमृतपाल र उनका सहयोगीहरू पञ्जाबकै होसियारपुरमा रहेको गोप्य जानकारी पाएपछि प्रहरीले खोजी अभियानलाई तीव्र पारेको थियो । पञ्जाब प्रहरीले राज्यका बासिन्दालाई शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न अपिल गर्दै भ्रामक समाचार नफैलाउन आग्रह गरेको छ । प्रहरी कारबाहीसम्बन्धी विवरणहरू क्रमशः सार्वजनिक गरिने पञ्जाब प्रहरीले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

गुप्तचर निकायहरूका अनुसार अमृतपाल सिंहले पाकिस्तानी गुप्तचर निकाय इन्टर सर्भिसेस इन्टेलिजेन्समार्फत हतिायर ल्याएर पञ्जाबलाई साम्प्रदायिक आधारमा विभाजन गर्न खोजेका छन् । उनले युवावर्गलाई बन्दुक संस्कृतितर्फ डोर्‍याएको आरोप छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ११ : ३५ बजे