चितवनको मतगणना सुरु, एमालेको सुरुवाती अग्रता



चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । आज मध्याह्न २ बजेदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको हो । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को मतपत्र मिसाएर गणना सुरु गरिएको हो ।

यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो ।

चितवन क्षेत्र नं २ को पहिलो प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ । इच्छाकामना गाउँपालिका वडा नं १ को नौ सय ७१ मत गन्दा एमालेका रामप्रसाद न्यौपानेले तीन सय ६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले तीन सय १९ र नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले दुई सय ४४ मत प्राप्त गर्नुभएको छ । इच्छाकामनाको अन्य वडाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : २९ बजे