राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछः डा वाग्ले



दमौली । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा स्वर्णिम वाग्लेले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई एकसाथ चिर्नुपर्ने अवस्था आएको बताएका छन् ।

मुख्य निर्वाचन कार्यालयबाट विजयीको प्रमाणपत्र लिए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आज दमौलीको खुलाचौरमा आयोजित सभामा उनले भने–“राजनीति सही दिशामा छैन्, दूषित बन्दै गएको छ, यसलाई सङ्ल्याउनुपर्छ ।” राजनीतिलाई सङ्ल्याएर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने डा वाग्लेको भनाइ थियो ।

राष्ट्रिय जीवनका विभिन्न पाटा ठप्प रहेका उल्लेख गर्दै उनले ती सबै कुरालाई खुकुलो बनाउँदै अन्तरनिहीत सम्भावनालाई प्रष्फुटनका लागि राजनीतिलाई सही दिशामा ल्याउनुपर्नेमा उनले जोड दिए । एक व्यक्तिको प्रयासले मात्रै देशको विकास गर्न नसकिने उल्लेख गर्दै डा वाग्लेले यसका लागि सबै राजनीतिक दल एकै स्थानमा रहेर जिम्मेवारका साथ काम गर्नुपर्ने समय आएको उल्लेख गरे ।

“रास्वपा छ महिनामा राष्ट्रिय पार्टी बन्न सफल भएको छ, राजनीतिमा यसले एक किसिमको झिल्को दिएको छ । यसले पराम्परागत दललाई सुध्रिन बाध्य बनाएको छ”, उनले भने । युवाका आकांक्षालाई पूर्णरुपले आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नरहेको वाग्लेको भनाइ थियो ।

उनले भने– “देशका विकृति विसङ्सङ्गतिलाई चिर्न तनहुँले ठूलो सन्देश दिएको छ”, उनले भने । तनहुँवासीले गर्ब गर्ने किसिमले इमान्दार र जिम्मेवार भएर काम गर्ने डा वाग्लेले प्रतिवद्धता व्यक्त गरे ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

आज सम्पन्न मतगणनाअनुसार डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका हुन् । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने बताए ।

तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै उाले भने, “जनताका अपेक्षा न्याय गर्नेछु ।” डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, “सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।”

मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए ।

विजयी डा वाग्लेलाई प्रतिस्पर्धी भट्टराईको बधाई
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएपछि भट्टराईले वाग्लेलाई बधाई दिएका छन् ।

कांग्रेसका भट्टराईले भने, “चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो । र, संयोगले तपाईँ निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो ।” उनले यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा आफूप्रतिको विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब डा वाग्लेको अभिभारा बन्न पुगेको बताए ।

उनले भने, “मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहनेछु । अनि तपाईँले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।” निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : ५६ बजे