चिनियाँ राष्ट्रपति सी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच फोनवार्ता, अमेरिकाद्वारा स्वागत



बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोनवार्ता भएको बेइजिङ र कीभले दुवै देशले बताएका छन् ।

जेलेन्स्कीले ट्वीटरमा लेखेका छन्, “राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोन वार्ता भएको छ ।”

“यो आह्वान र चीनका लागि युक्रेनका राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा सशक्त गति दिनेछ भन्ने मलाई विश्वास छ,” उनले भनेका छन् ।

जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकीफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घण्टा लामो टेलिफोन संवाद भएको पुष्टि गरेका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार सीले जेलेन्स्कीलाई ‘वार्ता र वार्ता’ नै युद्धको ‘निकासको एक मात्र उपाय’ भएको बताएका छन् ।

“युक्रेन सङ्कटको विषयमा चीन जहिले पनि शान्तिको पक्षमा उभिएको छ र उसको मूल अडान शान्ति वार्तालाई बढावा दिनु हो,” सिसिटिभीले भनेको छ ।

सिसिटिभीले चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गरी लेखेको छ, “चीनले न त अर्को तिरबाट वाण हान्नेछ , न त आगोमा इन्धन थप्नेछ, सङ्कटको फाइदा उठाउने कुरा चीनले कहिल्यै सोचेको छैन ।”

सीले भने, “आणविक मुद्दाको सामना गर्दा सम्बन्धित सबै पक्ष शान्त र संयमित रहनुपर्छ, आफ्नो र सम्पूर्ण मानवजातिको भविष्य र नियतिमा साँच्चिकै ध्यान केन्द्रित गर्नुपर्छ र संयुक्त रूपमा सङ्कटको व्यवस्थापन र नियन्त्रण गर्नुपर्छ ।”

बेइजिङले द्वन्द्वमा आफू तटस्थ रहेको बताउँदै आएको छ भने रूसी आक्रमणको निन्दा गरेको छैन ।

जेलेन्स्कीले आफ्ना चिनियाँ समकक्षी सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आएका छन् ।

फेब्रुअरीमा बेइजिङले युक्रेनको सङ्कटको ‘राजनीतिक समाधान’ का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो ।

दस्तावेजमा चीनलाई तटस्थ पार्टीको रूपमा चित्रित गरिएको छ र दुवै पक्षलाई शान्ति वार्तामा प्रवेश गर्न आग्रह गरिएको छ ।

‘सबै देशको सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई प्रभावकारी रूपमा कायम राख्नुपर्छ भन्ने उक्त पत्रको पहिलो बुँदा थियो ।

तर मस्कोको सेनाले आफ्नो छिमेकीमाथि आक्रमण गरेपछि सुरु भएको युक्रेन युद्धको विशिष्टतासँग यो कसरी सम्बन्धित छ भन्नेबारे चीनले विस्तार गर्न निरन्तर अस्वीकार गर्दै आएको छ ।

पत्रमा बेइजिङले रूस र युक्रेनलाई शान्ति वार्ता पुनः सुरु गर्न आह्वान गर्दै ‘वार्ता अनि वार्ता नै एक मात्र व्यवहारिक समाधान हो’ भनेको छ ।

“अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्तालाई बढावा दिने सही दृष्टिकोणप्रति प्रतिबद्ध रहनुपर्छ, द्वन्द्वका पक्षहरूलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न मद्दत गर्नुपर्छ र वार्ता पुनः सुरु गर्नका लागि परिस्थिति र प्लेटफर्म हरू सिर्जना गर्नुपर्छ,” पत्रमा भनिएको छ ।

चिनियाँ राष्ट्रपति सी र जेलेन्स्कीबीचको वार्ताको अमेरिकाद्वारा स्वागत
चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रप्रमुख भोलोदिमिर जेलेन्स्कीबीच रूस र युक्रेनबीचको युद्ध अन्त्यको सम्भावनाबारे छलफल गर्न बुधबार भएको टेलिफोन वार्ताको ह्वाइट हाउसले प्रशंसा गरेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भने, “राष्ट्रपति सी र जेलेन्स्कीबीच फोन वार्ता भएको खबरको हामी स्वागत गर्दछौं । यो राम्रो कुरा हो ।”

किर्बीले भने, “अब यसले कुनै अर्थपूर्ण शान्ति अभियान वा योजना वा प्रस्तावको नेतृत्व गर्नेछ कि छैन भन्ने अझै सुनिश्चित भइनसकेको हाम्रो बुझाई छ ।
“हामी यो युद्ध अन्त्य होस् भन्ने चाहन्छौँ । हामीले लामो समयदेखि यही कुरा भन्दै आएका छौं,” उनले भने ।

“यदि रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलायो भने यो युद्ध ‘तत्काल’ अन्त्य हुन सक्ने उनले बताए ।

किर्बीले भने, “न्याय र दिगो शान्ति हुन सक्छ र विश्वसनीय आधार सिर्जना हुन सक्छ भने शान्तिमा पुग्ने कुनै पनि प्रयासको हामी स्वागत गर्दछौं ।”

“हाम्रो विचारमा, युक्रेनी नागरिक र राष्ट्रपति जेलेन्स्कीले यसमा सहभागिता नजनाउँदासम्म वा शान्तिवार्ताका लागि समर्थन नगरेसम्म शान्तिको बिषयले दिगो वा विश्वसनीय सार्थकता पाउनेछैन,” उनले भने ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : ११ बजे