भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिका–९ सूर्यमढीस्थित वाकुपति चाँगुनारायण मन्दिरको अभिलेख सङ्ग्रह गरी भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘वाकुपति चाँगुनारायणको तामाको छानामा सुनको जलप २०८०’ पुस्तक सार्वजनिकीकरण गर्दै उनले धर्म, कला र संस्कृतिको नयाँ पुस्ताले संरक्षण गर्नुपर्ने बताए ।
असल नियतले बहुमत जनताको हित हुने काम गर्नु पनि धर्म हो भन्दै उनले भक्तपुरका कालीगडहरूले देशका अन्य जिल्लाको सम्पदा निर्माणमा क्रियाशीलता देखाउँदै कला, धर्म र संस्कृतिको संरक्षण गरिरहेको बताए ।
अध्यक्ष बिजुक्छेँले भने, “हामीसँग भएको मौलिक सीप अरू कसैसँग छैन, हामीसँग भएको पाटी र मन्दिर निर्माण गर्ने सीप आफैँमा महत्त्वपूर्ण छ, यसलाई पुस्तान्तरण गर्दै जानु आवश्यक छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति चाँगुनारायण मन्दिरमा तामाको छाना र सुनको जलप लगाउने कार्यमा एक हजार पाँच सयभन्दा बढी व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको बताए ।
नगर प्रमुख प्रजापतिले भने, “वाकुपति मन्दिर परिसर धार्मिक र सांस्कृतिक महत्त्व बोकेको ठाउँ हो, यसलाई ज्येष्ठ नागरिकहरूलाई दिवा सेवा दिने आदर निकेतनका रूपमा विकास गर्नसके यसको महत्त्व अझ बढ्नेछ ।”
बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले ऐतिहासिक वाकुपति मन्दिर स्थानीय जनताको आस्थाको केन्द्रको रूपमा रहेको उल्लेख गर्दै पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र संवर्द्धन गर्नु हाम्रो साझा कर्तव्य र दायित्व भएको बताए । इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर स्वयंमा एक खुला विश्वविद्यालय, खुला सङ्ग्रहालय र खुला पुस्तकालयको रूपमा रहेको चर्चा गरे ।
मन्दिरमा तामाको छाना र सुनको जलप लगाउने कार्यमा करिब एक हजार पाँच सय ४७ जनाबाट रु एक करोड १५ लाख ९५ हजार छ सय २८ सङ्कलन भएको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिए । कार्यक्रममा वाकुपति नारायणको नौ दाफा भजन, प्रगतिशील भजन, बाँसुरी र वीणा तथा धाः बाजा प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया