मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत



गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा उनले मागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो । उनलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)को एक गरी ३५ मत प्राप्त भएको छ । प्रस्तावका विपक्षमा नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बसेका छन् ।

प्रदेशको मुख्यमन्त्रीमा यही वैशाख १४ गते नियुक्त हुनुभएका पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । विश्वासको मत पाएसँगै पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री पाण्डेले अब सरकारका काम तीव्ररूपमा अघि बढ्ने बताए । मन्त्रिपरिषद्लाई चाँडै नै पूर्णता दिने बताउँदै उनले यस सम्बन्धमा गठबन्धनका दलबीच छलफल भइरहेको जानकारी दिए ।

सरकारका तर्फबाट आगामी नीति तथा कार्यक्रमको गृहकार्य भइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ६ : ०८ बजे