नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन गरी दोषीलाई कडा कारवाही गर्न ओलीको आग्रह

छानविन नगर्ने दवाव कसले दियो खुलाउन प्रधानमन्त्रीलाई चूनौती



काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली शरणर्थी प्रकरणमा निस्पक्ष छानविन गरी दोषीलाई कडा कारवाही गर्न आग्रह गरेका छन् । उक्त काण्डमा छानबिन नगर्न कसले दवाव दिएको हो त्यो प्रष्ट पार्न समेत उनले प्रधानमन्त्रीलाई चूनौती दिएका छन् ।

‘म कसैलाई छाड्नेवाला छैन भनिरहेका छन् प्रधानमन्त्रीले । अहिलेको नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा सुरुवात गरेकै उनैले हो कि ? कुरा उठाएर छानविन थालेकै उनले हो कि ? भर्खर मैले कुरा गरेपछि बुझ्दैछु भन्दैछन्’ संसदीय दलको बैठकलाई आइतवार सम्बोधन गर्दै ओलीले भने– तर, हिजो आएर प्रचण्डले फाइफुइँ गरेर मानिलिऔ उनैको आविष्कार जस्तो गर्दैछन् । हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौं ।’

ओली र प्रधानमन्त्रीबीच शनिवार भएको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारवाही गर्न ओलीले आग्रह गरेका थिए । साथै, ओलीले जो सुकै संलग्न भएको पाइएमा कारवाही हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए । तर प्रचण्डले छानविन नगर्न दबाव आएजस्तो अभिव्यक्ति दिएपछि ओली आक्रोसित भएका हुन् ।

यो गिरोहको वारेमा सबैभन्दा पहिला आफ्नो पार्टीले राष्ट्रिय सभाका प्रश्न उठाएको र छानविनको माग गरेको समेत ओलीले बताए । राष्ट्रिय सभाका एमाले संसाद दिलकुमारी (पार्वती) रावलले २०७९ भदौमा यो प्रकरण उठाउँदै छानविनको माग गरेकी थिइन । तर त्यसबेलाको कांग्रेस माओवादी सत्तागठवन्धनले यो बिषयमा छानविन अघि बढाउन चाहेको देखिएन ।
‘हामीले उहिलेदेखि संसदमा कुरा उठाएको नसुन्ने अहिले कसैलाई छाड्दिनँ रे । पुष्पकमल दाहालका खुशीको कुरा हो कसैलाई छाड्ने र नछाड्ने ? दोषि छ भने कानूनले छाड्दैन । को हो पुष्पकमल दाहाल छाड्दिनँ भन्ने ? के भन्या त्यो ? म झुक्दिनँ दबाबमा पर्दिनँ । कसले दबाब दियो’, उनले प्रश्न गर्दै भने, ‘मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने, म निस्किएपछि कसैको प्रभावमा प्रर्दिनँ । म झुक्दिनँ पछि हट्दिनँ । कसले दबाब दियो तपाईलाई पछि हट्नु भनेर म प्रश्न गर्न चाहन्छु । मैले कसैको छानविन नगर्नुस् भनेको छैन । कडा साथ कारवाही गर्नुन् ।’

अध्यक्ष ओलीले उक्त प्रकरणमा संलग्नताका आरोप लागेका एमाले सचिव तथा संसाद टोपबहादुर रायमाझीमाथि छानविन गरी आरोप प्रमाणित भए कडा कारवाही गर्न पनि प्रधानमन्त्रीलाई भनेका छन् । पार्टीका कोही त्यस्तो अपराधमा लागेको भए तिनलाई पार्टीले नछाड्ने र संरक्षण नगर्ने ओलीले बताएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ५ : ३४ बजे