इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा भ्रष्टाचारको आरोपमा सुनुवाइको लागि उपस्थित भएका छन् । अर्धसैनिक बलले उनलाई यहाँको अदालतबाट गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ ।
यसैबीच पाकिस्तानको आन्तरिक मन्त्रालयले आज पूर्वी प्रान्त पञ्जाबमा कानूनी व्यवस्थाको सुनिश्चित गर्नका लागि सेनाको सहयोग माग गरेको मन्त्रालयले उल्लेख गरेको छ । जियो न्युजले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छः न्यायाधीश मुहम्मद बशीरले सुनुवाइको अध्यक्षता गर्दै नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अल कादिर ट्रस्ट भ्रष्टाचार मुद्दामा खानलाई १४ दिनको हिरासतमा राख्न अनुमतिका निम्ति अदालतलाई अनुरोध गरेको छ ।
नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) का डेपुटी प्रोसिक्युटर जनरल सरदार मुजफ्फर अब्बासी र विशेष अभियोजक रफिक मसूद पनि अदालतमा उपस्थित भएको जियो न्यूजले उल्लेख गरेको छ । अदालतमा एनएबीको तर्फबाट सरकारी वकिल सरदार जुल्कारनैन र अनुसन्धान अधिकृत मियाँ ओमर नदीमले प्रतिनिधित्व गरेका थिए ।
मङ्गलबार इमरान खानलाई इस्लामाबाद उच्च न्यायालय बाहिर पाकिस्तान रेंजर्सले अल कादिर ट्रस्ट मुद्दामा राष्ट्रिय एकाउन्टेबिलिटी ब्युरो (एनएबी) द्वारा जारी गरेको वारेन्टमा पक्राउ गरेको थियो। अल कादिर युनिभर्सिटी ट्रस्टको नाममा सयौं नहर जग्गा आर्जन गरेको आरोपमा इमरान खान, बुशरा बिबी र अन्य विरुद्ध एनएबीले अनुसन्धान थालेको थियो जसले राष्ट्रिय कोषलाई १९ करोड पाउण्ड नोक्सान पुर्याएको बताइएको छ ।
भ्रष्टाचार विरोधी स्वतन्त्र संगठनको निर्देशनमा पूर्वप्रधानमन्त्रीलाई मङ्गलबार अल कादिर ट्रस्ट मुद्दामा रेंजर्सले हिरासतमा लिएको थियो। त्यसपछि उनलाई सोधपुछका लागि रावलपिण्डीको ग्यारिसन शहरमा स्थित मुख्यालयमा लगिएको थियो।
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।
“प्रहरी टोलीले प्रान्तभरिबाट ९४५ ‘कानून उल्लङ्घन कर्ता र उपद्रवी’हरूलाई पक्राउ गरेको छ,” अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख गरिएको छ ।
प्राप्त जानकारी अनुसार खानलाई पब्राउ गरेपछि भएको हिंसामा १३० भन्दा बढी प्रहरी घाइते भएका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो ।
महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उनको हत्याको षडयन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।
खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अधिकारीहरूले उनलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।
आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका शहरहरूमा भेला भएर सडक अवरुद्ध गरेका छन् ।
प्रतिक्रिया