कराँची गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु



कराँची । आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानमा आधारित एआरवाई न्युजले जनाएअनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा गोली हानाहान भएको थियो । गुलसन–ए–सुरजानीस्थित पेट्रोल पम्प नजिकै अज्ञात व्यक्तिले कारमा गोली चलाउँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाबर र नसिम रहेका छन् ।

यसबाहेक, मलिर साउदाबादमा आयोजित विवाह समारोहमा एक व्यक्तिको गोली हानी हत्या गरिएको थियो । हत्या गरिएका व्यक्ति मोहम्मद अर्सलान रहेको बताइएको छ । यसैबीच कराँचीमा दुर्घटनावश गोली लागेर एक महिलाको मृत्यु भएको छ । घटना डिफेन्स फेज ६ खयाबान–ए–हलालमा भएको उल्लेख गरिएको छ । गोली लागेकी महिला सफिया साफिया रहेको बुझिएको छ ।

बलदियाको गुलसन–ए–गाजी नजिकैको बिस्मिल्लाह चोकमा गोली लागेर अर्की एक महिलाको मृत्यु भएको छ । मृतक नोरिन रहेकी छिन् । प्रहरीले यी विभिन्न घटनामा अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ५ : १० बजे