भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स

म्यान्मार, थाइल्याण्ड र कम्बोडियाबाट उडानमा चासो, उच्च अधिकारीद्वारा विमानस्थलको स्थलगत अवलोकन



काठमाडौँ । एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्राे ‘विजनेश’ पाउन सकेको छैन ।

विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त विमानस्थलमा कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको थियो । यद्यपि, यो एयरलाइन्सले पनि विभिन्न कारण देखाउँदै उडान नियमित गरेको छैन । अघिल्लो पटक झण्डै दुई महिना उडान स्थगित गरेको जजिराले पुनःकरिब एक महिनादेखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

जेठ १५ देखि उडान गर्ने निगमको तयारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेठ १५ देखि उडान गर्नेगरी आवश्यक तयारी गरिरहेको छ ।

निगमले भैरहवाबाट भारतको नयाँदिल्ली र मलेसियाको क्वालालम्पुर सातामा एक–एक उडान गर्ने कार्यतालिका बनाएको छ । मलेसियाबाट उडान अनुमति पाइसकेको निगमले भारतबाट अझै अनुमति पाएको छैन ।

“भारतबाट उडान अनुमति पाएका छैनौँ, ‘अन्डर प्रोसेस’ भनेर सन्देश आएको छ, एक÷दुई दिनभित्रै निर्णय आउला, अनुमति पाउनासाथ टिकट बिक्री खुला गर्नेछौँ”, निगमका प्रवक्ता रमेश पौडेलले भने ।

उनका अनुसार ‘इनरुट’मा पर्ने देशबाट ‘ओभर प्लाइट’ को अनुमति र सम्बन्धित देशको ‘ल्याण्डिङ पार्किङ’को अनुमति आउनसाथ काम अगाडि बढ्नेछ । यसका लागि सम्बन्धित मुलुकसँग अनुमति प्रक्रियामा रहेको प्रवक्ता रमेश पौडेलले बताए । गौतमबुद्ध विमानस्थलबाट उडान सुरू गरेपछि निगमले भैरहवा–दिल्ली–काठमाडौँ र काठमाडौँ–मलेसिया–भैरहवा उडान हुनेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका नेपाल एयरलाइन्सले ‘समर’मा उडानका लागि तालिका पेस गरिसकेको छ । “नेपाल वायुसेवा निगमको भैरहवामा उपस्थिति नै हाम्रा लागि सकारात्मक पक्ष हो, अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाइरहेकाले उनीहरुलाई आकर्षण गर्न यसले मद्दत पुग्नेछ”, उनले भने ।

जजिराको उडान अन्योल
झन्डै एक महिनादेखि जजिरा एयरवेजले उडान बन्द गरेको छ । जजिराले वैशाख ६ गते (अप्रिल १९)देखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय जजिराले कुवेत–भैरहवा सातामा तीन उडान भर्दै आइरहेको थियो । तर उडान अवतरणमा समय तालिका नमिलेपछि स्थगन गरेको एयरलाइन्सले उल्लेख गरेको छ ।

यसअघि जजिराले मङ्गलबार, बिहीबार र शुक्रबार बिहान ७ः१५ बजे विमानस्थलमा अवतरण हुने र ८ः०५ मा कुवेतका लागि उडान गर्दै आएको थियो ।
तर यात्रु सुविधाका लागि भन्दै जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समय तालिका परिर्वतन गरेर उडान गर्न अनुमति मागेको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जजिराले व्यावसायिक कारण देखाउँदै उडान स्थगित गरेको र कहिलेबाट उडान हुने टुङ्गो नरहेको बताए । पछिल्लो पटक मौसमका कारण झन्डै दुई महिना रोकिएको उडान गत फागुन २५ गतेबाट पुनः सुरू भएको थियो ।

जजिराले २०७९ साल जेठ २ गतेबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको थियो । व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवा शुल्कमा पनि छुट पाएको थियो ।

जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुट पायो । विमानस्थलले यस्तो छुट थप एकवर्ष लम्ब्याएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्सले विसं २०८१ सम्म शुल्क छुट पाउनेछन् ।

एक वर्षमा ३५ हजार अन्तर्राष्ट्रिय यात्रु
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एक वर्षमा अन्तर्राष्ट्रियतर्फ तीन सय ५९ उडानमार्फत झण्डै ३५ हजार यात्रुले आवतजावत गरेका छन् । विमानस्थलका महाप्रबन्धक पाण्डेका अनुसार ३४ हजार आठ सय ७७ अन्तर्राष्ट्रिय यात्रुको आवागमन भएको छ । आन्तरिक उडान नियमित भइरहे पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको उनले बताए ।

म्यान्मार, थाइल्याण्ड र कम्बोडियाबाट उडान चासो
गौतमबुद्ध विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चासो दिएका छन् । विमानस्थलका अनुसार अहिले म्यानमार, थाइल्याण्ड, कम्बोडियालगायत मुलुकबाट उच्च अधिकारीले विमानस्थलको स्थलगत अवलोकनसमेत गरेका छन् ।

म्यानमारले छिट्टै चार्टर्ड उडान गर्ने मौखिक प्रतिक्रिया दिएको छ भने अन्य एयरलाइन्सले थप छलफल गरी उडान गर्ने संकेत गरेका छन् । भैरहवाबाट बौद्धमार्गीहरुको बाहुल्यता भएका मुलुकमा उडान विस्तार हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : २७ बजे