भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ: शशाङ्क कोइराला



त्रिवेणी । नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशाङ्क कोइरालाले भ्रष्टाचार निर्मूल गर्न प्रयत्न गर्नुपर्ने बताएका छन् ।

नवलपुरको कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसद्मा भ्रष्टाचारका सम्बन्धमा आफूले राखेको भनाइमा प्रष्टीकरण दिँदै भने, “मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्न प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्‍यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दैछु ।”

सो अवसरमा उनले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताए । “जसले पत्रकारिता बुझेको छ, समाचार सम्प्रेषण गर्छन्, उनीहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ ।” नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताए ।

चार पत्रकार पुरस्कृत
सो अवसरमा चार जना पत्रकारलाई पुरस्कृत गरिएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले प्रदान गर्दै आएको ‘सूर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख सूर्यचन्द्र बस्नेतसहित चार जना पत्रकारलाई सम्मान गरिएको हो ।

विसं २०७८ र २०७९ को उक्त पुरस्कारबाट बस्नेतसहित, बिबिसी नेपाली सेवाका ईश्वर जोशी, डा भूमिराज चापागाईं र नेपाल टेलिभिजन सञ्चालक समिति अध्यक्ष समीरजङ्ग साह सम्मान गरिएको हो । चारै जनालाई जनही रु २५ हजारसहित सम्मान गरिएको नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ४ : ४२ बजे