भारतको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ भएको सरकारी अधिकारीको भनाइ



नयाँ दिल्ली । भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित सङ्ख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।

भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुगेको बताएका छन् ।

उनले भने, “मृत्यु हुनेको सङ्ख्या २८८ भनी यस पहिले अपुष्ट रूपमा सञ्चारमाध्यमबाट आएको तर आइतबार संशोधित सङ्ख्या २७५ जना भएको पुष्टि भएको छ ।”

जिल्ला प्रशासकद्वारा रेल दुर्घटनामा ज्यान गुमाएका केही व्यक्तिको दुई पटक गणना गरिएको पाइएको छ । अन्तिम गणनाबाट मृत्यु हुनेहरूको सङ्ख्या संशोधन गरी २७५ भएको पुष्टि गरिएको छ ।

ओडिसाका मुख्य सचिव प्रदीप जेनाले २७५ मध्ये ८८ जनाको मात्र पहिचान भएको बताए ।

अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७५ घाइतेमध्ये करिब ८०० जना उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतका सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले रेल दुर्घटनाको कारण ‘पोइन्ट मेशिन’ र विद्युतीय ‘इन्टरलकिङ’ प्रणालीमा गरिएको परिवर्तन भएको बताएका छन्।

वैष्णवले भने, “दुर्घटनाको लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गरिएको छ र रेलवे लाइनलाई पुनः स्थापित गर्ने प्रयासहरू अहिले जारी छन् ।

दुर्घटनास्थलमा आइतबार साँझसम्ममा कम्तीमा दुई वटा रेललाइन सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १० : ३० बजे