क्षमता वृद्विका लागि अघि बढ्न अध्यक्ष ओलीको सुझाव

फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदिरहेको नदीमै रिजर्भर नबनाइकन चार सय ८० मेगावाट बिजुली निकाल्न सकिन्छ ।



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला कर्मचारीलाई अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्विका लागि योजनाबद्धरुपमा अघि बढ्न सुझाव दिएका छन् ।

आज यहाँ आयोजित नेपाल निजामति कर्मचारी सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले कुनै पनि क्षेत्रमा सफल हुन क्षमता वृद्धि आवश्यक रहेको बताए । “अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्धि पनि आवश्यक छ, योजनाबद्ध ढङ्गले अधिकारसँगै क्षमतावृद्विका प्रयास योजनाबद्धरुपमा अघि बढाउन यो भेला आयोजना भएको मैले ठानेको छु ।”

उनले हकअधिकार प्राप्त गर्न र प्राप्त अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिए । नेकपा (एमाले) स्थापना कालदेखिनै समानताको पक्षमा लड्दै आएको भन्दै उनले समानताको मान्यताबाट आफूहरु पछि नहट्ने बताए । उनले देश र जनताप्रति इमान्दार हुँदै सेवाभावले प्रेरित भइ काम गर्न महिला कर्मचारीलाई सुझाव दिए ।

उनले फुकोट–कर्णाली आयोजना भारतीय कम्पनीलाई दिइएकोप्रति असन्तुष्टि व्यक्त गरे । “फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदिरहेको नदीमै रिजर्भर नबनाइकन चार सय ८० मेगावाट बिजुली निकाल्न सकिन्छ । यो आयोजना नेपालले निर्माण गर्नेबारे मैले २०७६ मै निर्णय गरेको थिए”, उनले भने ।

अध्यक्ष ओलीले सीमा नाकामा संयुक्त चेकजाँच पोष्ट निर्माणको काम आफ्नै कार्यकालमा सुरु भएको समेत दाबी गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ९ : १२ बजे