पूर्वराष्ट्रपति डा यादवद्वारा राससमा तस्बिर प्रदर्शनीको अवलोकन



काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय समाचार समिति (रासस)मा सञ्चालित ‘हाम्रोे संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक तस्बिर प्रदर्शनीको आज अवलोकन गरेका छन् ।

गणतन्त्र दिवस २०८० का अवसरमा यही जेठ ११ गतेदेखि भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनीको अवलोकनपछि पूर्वराष्ट्रपति डा यादवले भौगोलिक र सांस्कृतिक विविधतालाई अझ प्रस्फुटन र एकाकार गर्दै राष्ट्रलाई एकताबद्ध तुल्याउन यस किसिमको प्रदर्शनीको महत्त्व रहने बताए ।

उनले भने, “राष्ट्रिय एकता, अखण्डता र विविधतायुक्त समाजलाई जोड्न यस्ता गतिविधिले महत्त्वपूर्ण योगदान पुग्छ । प्रदर्शन गरिएका विविधतायुक्त तस्बिरले समाज र राष्ट्रलाई शरीरको तन्तु–तन्तुजस्तै जोड्दै लान्छ, भूगोलको विविधता छ, त्यस्तै, जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता छ, यी सबलाई जोड्दै लगेकोमा राससले राष्ट्रिय एकतालाई मजबुद गर्दै सामाजिक सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

पूर्वराष्ट्रपति डा यादवले आम जनतालाई आफ्ना रीतिथिति, भाषा र संस्कृतिका आधारमा यथोचित स्थान दिई सबैको भावनालाई जोड्ने र प्रवर्द्धन गर्ने कार्यमा राससले थप भूमिका निर्वाह गर्नसक्ने उल्लेख गरे । “गणतन्त्र दिवसको उपलक्षमा राससले फोटो प्रदर्शनी गरेको छ, यसले देशको भूगोल, सामाजिक र सांस्कृतिक विविधतालाई सम्बोधन गरेको छ”, उनले भने, “देशका कुना–काप्चासम्मको संस्कृति, तराई, पहाड, हिमालको संस्कृतिलाई समेटेर प्रदर्शन गरिएको छ, यसले समग्र राष्ट्रलाई जोड्ने काम गरेको छ । लोकतन्त्रमा समान अधिकार प्रतिनिधित्व हुने गरी आम जनताको भावानात्मक एकतालाई जोडेर राष्ट्रिय हितलाई प्रवर्द्धन गरेको छ यो प्रदर्शनीले ।”

प्रदर्शनीमा मिथिलादेखि, गौरानाच, थारू संस्कृति, नेवाःलगायत संस्कृतिसम्बन्धी तस्बिर समेटिएको पाइएकामा खुसी व्यक्त गर्दै पूर्वराष्ट्रपति डा यादवले तराई, पहाड र हिमाललाई जोड्ने आधारका रूपमा यस्ता गतिविधिको निरन्तरताको कामना गरे। उनले राससले व्यावसायिक धर्म निर्वाह गर्दै राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृतिको जगेर्ना र संवर्द्धन हुनेगरी आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

पूर्वराष्ट्रपति डा यादवले जनताप्रतिको विश्वास अभिवृद्धिका साथै देश र समाजलाई सही सूचना प्रवाह गर्न राससले भूमिका खेलेको स्मरण गरे । राससले स्थापनाकालदेखि हालसम्म निष्पक्ष, सन्तुलित र वस्तुनिष्ठ ढङ्गले जनता र राष्ट्रको सर्वोपरी हितमा रहेर समाचार सम्प्रेषण गरिरहेको भन्दै उनले यसलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए ।

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले राससको समाचार सङ्कलन, समाचार सम्पादन, अङ्ग्रेजी सम्पादनलगायत कक्षको निरीक्षण गरेका थिए । उनलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले राससका सेवा, संरचना, शैली र भावी रणनीतिका बारेमा अवगत गराएका थिए ।

राससका नायब महाप्रवन्धक श्यामप्रसाद रिमालले तस्बिरका बारेमा पूर्वराष्ट्रपतिलाई जानकारी गराएका थिए । राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले राससको व्यवस्थापकीय विषयमा जानकारी गराउनुभएको थियो भने राससका प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रधानसम्पादक एकराज पाठकले समाचार सङ्कलन र सम्प्रेषण प्रक्रियाबारे अवगत गराएका थिए ।

तस्बिर प्रदर्शनी सम्पन्न
गणतन्त्र गणतन्त्र दिवस २०८० का अवसरमा यही जेठ ११ गतेदेखि भद्रकालीस्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको ‘हाम्रोे संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक तस्बिर प्रदर्शनी आज सम्पन्न भएको छ ।

नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिर ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक प्रदर्शनीको एक समारोहकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी थिइन् ।

प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएको थियो । राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेला–महोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएको थियो ।

मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवं धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्बिर प्रदर्शनीले योगदान पुर्याउने विश्वास गरिएको छ । संस्थाले यसअघि पनि आफ्नो वार्षिकोत्सव समारोहमा तस्बिर प्रदर्शनी गर्दै आएको छ । हरेक दिन बिहान ७ बजे खुला भई साँझ ७ बजेसम्म अवलोकनको समय निर्धारण गरिएको थियो ।

प्रदर्शनीको क–कसले गरे अवलोकन
राससमा प्रदर्शन गरिएको तस्बिरको विशिष्ट व्यक्तित्वहरुले अवलोकन तथा राससको निरीक्षण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष, खिलराज रेग्मी, संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

यसैगरी नेपली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्रीहरु सुरेन्द्रकुमार कार्की, डा मीनेन्द्रप्रसाद रिजाल र दिलेन्द्रप्रसाद बडू, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतका पदाधिकारीले पनि तस्बिर प्रदर्शनीको अवलोकन गरेका थिए ।

त्यस्तै राजनीतिज्ञ, प्राध्यापक, कला–साहित्यप्रेमी, संस्कृतिकर्मी, आमसञ्चारकर्मीलगायत सर्वसाधारणले समेत रुचिपूर्वक प्रदर्शनी अवलोकन गरेका थिए । अवलोकनका क्रममा विशिष्ट पदाधिकारी एवं कलासंस्कृति क्षेत्रका अग्रजले समग्र मुलुकको ऐतिहासिक सम्पदा र संस्कृति झल्काई तिनको संरक्षण, संवर्द्धन सहयोग पुर्याउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरेकामा राससलाई धन्यवाद दिँदै भविष्यमा पनि यस किसिमका रचनात्मक कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनहरूले यस किसिमको रचनात्मक कामका लागि राससलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राससबाट सम्प्रेषित देशको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । विशेषगरी विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिरमा अवलोकनकर्ताको अभिरुचि देखिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : २९ बजे