गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु



काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घटना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो । अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

मृतकको पहिचान खुल्यो
गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डिएसपी लामिछानेले बताए । उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : २७ बजे