मोरङ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले समाजबादी मोर्चा गठनबाट नेपाली कांग्रेसलाई केही असर नगर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मोर्चा गठनबाट वर्तमान सत्ता गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने बताए ।
मन्त्री लिम्बुले नेपाली कांग्रेस एक्लै लडेर नेतृत्व गर्ने पार्टी भएको चर्चा गर्दै त्यसका लागि टोल एवं वडास्तरमा सङ्गठन विस्तार गरी जनताको घरघरमा जानुपर्नेमा जोड दिए । उनले भारतीय चलचित्रमा सीतालाई भारतीय छोरी हुन् भनेर गरिएको गलत जानकारीलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा राख्नुपर्ने तर्क गरे ।
मन्त्री लिम्बुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा जनकपुर आएर सीताको जन्मभूमि नेपालको जनकपुर हो भनेर पटकपटक मन्तव्य व्यक्त गरेको चर्चा गर्दै नेपाल र भारतको सम्बन्ध रामायणको पालादेखि भएकाले त्यसमा विवाद गर्नु आवश्यक नभएको विचार व्यक्त गरे ।
उनले हाम्रा क्रिकेट खेलाडीले पूर्वाधार र सुविधा विहीन अवस्थासमेतमा धेरै राम्रो खेल प्रदर्शन गरिरहेकोमा खुशी व्यक्त गरे । मन्त्री लिम्बुले आगामी दिनमा मोफसलमा खेलकूदको पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय खेलको लागि खेलाडी छनौटको व्यवस्था मिलाउने बताए ।





प्रतिक्रिया