झण्डै एक सय किलो सुन बरामद प्रकरणः एजेन्टसहित छ जना पक्राउ



काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने ।
एयरपोर्ट भन्सार गेटबाट सुन बोकेको बा। २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार साँझ ६ बजे नियन्त्रणमा लिइएको थियो ।

सुन ओसारपसारमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा पक्राउ गरिएको छ । अन्य २ जनाको नाम खुलेको छैन ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ११ : २७ बजे