काठमाडौं– नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख संगठित सदस्य पुर्याउने योजना रहेको जनाएको छ ।
संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले आज प्रेस वक्तव्य जारी गर्दै आउने महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्प गरेको र त्यस अनुसार संगठन अघि बढेको बताएका हुन् । एमालेका संगठित सदस्यको संख्या ५० प्रतिशतमा घटेको भन्दै समाचार आएपछि पार्टीले त्यसबारे प्रष्ट्याएको हो ।
वक्तव्यमार्फत अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटी सच्याउने काम भएको बताएका छन् । ‘दशौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोजिएको छ । त्यतिबेला कायम भएका सदस्यहरुमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरुको नाम यथावत् थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरुको ठूलो संख्या पनि त्यसमा पर्न गयो’, विज्ञप्तिमा भनिएको छ ।
दशौं महाधिवेशनमा एमालेले पार्टी सदस्य आठ लाख पुगेको जनाएको थियो । तर त्यो संख्या वास्तविक नरहेको एमालेले प्रष्ट्याएको छ । पार्टी सदस्यता नवीकरण कम हुनुमा यसपटक लिइएको नयाँ नीतिले पनि काम गरेको बक्तव्यमा लेखिएकोछ ।
‘यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरुको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्कृय सदस्यहरुले पनि नवीकरण गर्ने अवसर पाउँथे’ अधिकारीले भनेका छन्, नेतृत्वका आकांक्षीहरुबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरुको शुल्क तिरिने, दबाव दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरुका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्यो ।’ तर यसपटक योग्य सदस्यहरुको मात्रै नवीकरण भएको अधिकारीले प्रष्ट पारेका छन् ।
महाधिवेशनका क्रममा संख्याका आधारमा महाधिवेशन प्रतिनिधि तोक्न पाउने भएपछि जिल्ला कमिटीहरुले नक्कली सदस्यता वितरण गरेको, योग्यता नपुगेकालाई पनि सदस्यता वितरण गरिएको थियो । त्यसकारणले संख्या बढी देखिएको थियो ।





प्रतिक्रिया