सुन तस्करी छानबिन गर्न न्यायिक आयोग गठन हुनुपर्छ: अध्यक्ष ओली



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक समिति आवश्यक भएको बताए । माथिल्लो तहको संलग्नता विना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी जारी रहेको उनले दाबी गरे ।

अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबाट जोगाउन न्यायिक समिति बन्नुपर्ने बताए । सरकारले विरोधलाई मत्थर पार्न सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको पुरानो मुद्दामा गिरफ्तार गरेको समेत उनले दाबी गरे ।

उनले भने, ‘संसद् अवरोध गर्नै हुँदैन। अवरोध गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद् देश र जनताका लागि काम गर्ने थलो हो। जनता र देशका काम निर्बाध रूपमा काम गर्न पाउनुपर्छ। संसद् देश र जनताका पक्षमा आवाज उठाउने। सरकारमा भए रक्षा गर्ने, नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद् निदाएर, सुतेर बस्ने ठाउँ होइन। संसद् चलोस् न त। संसद् चल्नुपर्छ तर, बरु बोल्नु हुँदैन भन्ने होइन।’

उनले एमालेलाई सरकारमा कुनै रुचि नभएको उल्लेख गर्दै देशको अर्थतन्त्र सरकारकै कारणले ध्वस्त भएको आरोप लगाए।

उनले भने, ‘हामीले सत्तातिर हेरेको छैन। हामीले त्यता हेरेका पनि छैनौँ। यसको अर्थ हामीले हेरेको छैन भनेपछि सरकारले जे गरे पनि ढुक्क रहेछ नि भन्ने कुरा चल्दैन। जे पनि गर्न पाउँदैन।’

सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यसका कनेक्सन कहाँ छ। टुप्पो टुप्पो मात्रै हेरेर हुँदैन। जरो कहाँ छ। स्पष्ट देखियो २३४ पटक कुनै गिरोहसम्म निरन्तर संवाद कसरी हुन्छ मान्छेको ? यो निष्पक्ष छ। तैपनि सोधपुछ पनि गर्नुपर्दैन। यसरी पनि देश चल्छ ? अनि बाहिर स्टण्ट दिएको छ। गफ दिएको छ। भ्रमपूर्ण प्रचार गरेको छ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणबारे छानबिन गर्न आयोग बनाउन माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ३ : ०९ बजे