टिप्पणी

माधव भन्छन् : फूटको औचित्य पुष्टी भयो, झलनाथ भन्छन् : भएको छैन

सवैले पार्टी छाडेर एमालेमा फर्किए वा दायाँबायाँ लागे भनेपनि माधव नेपाल अध्यक्षका रुपमा पार्टीमा एक्लै रहनेछन् र भन्नेछन् : विभाजनको औचित्य पुष्टी भो



काठमाडौं – एमाले छाडेर एकीकृत समाजवादी खोलेका र त्यसको अध्यक्ष बनेका माधव नेपालले बिभाजनको औचित्य पुष्टी भएको बताएका छन् । तर पार्टी छाड्नेहरुले आफ्नो मिसन नबुझेको र आफूविरुद्ध लागेको भन्दै त्यसलाई पनि सकारात्मकनै मानेका छन् ।

पार्टी किन फुटाएको ? सिद्धान्त के हो ? दर्शक के हो ? केही पनि सार्वजनिक गर्न नसकेको भन्दै झलनाथ खनालहरुले आलोचना गरिरहँदापनि माधव एकोहोरो विभाजनको औचित्य प्रमाणित भएको वयान दिइरहेका छन् ।
त्यसका मुलभूत चार कारण छन् ।

पहिलो, जसरी पनि अध्यक्ष बन्नु । पार्टी छाड्नेको लर्को छ तर माधव नेपाल विभाजनको औचित्य पुष्टी भयो भन्छन् । माधव नेपालले किन एमाले फोरेर एउटा चोइटाको अध्यक्ष बने ? यसको पुष्टी सिद्धान्तत् उनले जुनिभर गर्न सक्दैनन् । तर उनको कोणबाट हेर्दा बिभाजनको पहिलो औचित्य वा कारण थियो, पार्टी अध्यक्ष बन्नु । उनी एकीकृत समाजवादीको अध्यक्ष बने, विभाजनका औचित्य पुष्टी भयो । एमालेको अध्यक्ष ओली बनेदेखि उनी असन्तुष्ट थिए ।

दोश्रो थियो, कम्युनिष्ट सरकार ढाल्नु र देउवालाई प्रधानमन्त्री बनाउनु । उनले आफ्नो पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर राष्ट्रपतिकामा बुझाए । ओली सरकार ढल्यो, परमादेशबाट देउवा प्रधानमन्त्री बने । कम्युनिष्ट प्रधानमन्त्री हटाउने र कांग्रेसलाई बनाउने उनको औचित्य पुष्टी भयो । ओलीले छेउमा कुुर्सी राखेर बस्न नपाउँदा अपमान भयो भन्ने माधव नेपाल प्रचण्ड र देउवाका सहयोगी हुँदा मान पाएकोमा दंग छन् ।

तेश्रो, ललिता निवास प्रकरणबाट उन्मुक्ति । माधव नेपालले प्रधानमन्त्री भएका बेला ललिता निवास प्रकरणको जग्गा व्यक्तिका नाममा लैजाने नीतिगत निर्णय भएको थियो । प्रधानमन्त्री केपी ओलीले त्रिताल आयोग बनाएर छानविन गर्दा नीतिगत निर्णयमा माधव नेपालको संलग्नता देखियो । सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गरेपछि उनी कुनैपनि बेला पक्राउ पर्न सक्थे, त्यसको प्रक्रिया अघि बढेको पनि थियो ।
त्यसबाट बच्न उनी एमाले फुटाउन चाहन्थे ताकि प्रचण्ड र देउवालाई नेता मान्दा ललिता निवास प्रकरणमा उनले उन्मुक्ति पाउन सक्थे । नभन्दै अहिले ठ्याक्कै त्यही प्रमाणित भयो । भ्रष्टाचारविरुद्ध कतै मोलाहिजा नगर्ने हुँकार गर्ने यो गठवन्धनले माधव नेपाललाई ललिता निवास काण्डबाट उन्मुक्ति दिंदैछ । नीतिगत निर्णय गर्ने उपप्रधानमन्त्रीमाथि मुद्दा चल्ने, टिप्पणी उठाउने कर्मचारी जेलमा जाने र नीतिगत निर्णय गर्ने प्रधानमन्त्रीले उन्मुक्ति पाउने दुनियाँमा हुँदैन । तर भयो । भ्रष्टाचार र अनियमितताको यो काण्डबाट उन्मुक्ति पाउन पार्टी फुटाएपछि अहिले त्यसको औचित्य प्रमाणित भयो । व्यक्तिगत लाभ लिए वा लिएनन्, त्यो प्रष्ट छैन तर उनकै निर्णयबाट सरकारी जग्गा व्यक्तिका नाममा पुग्यो ।

चौथों, विदेशीको सेवा । विदेशीको एउटा चाहना छ नेपालका कम्युनिष्ट शक्तिलाई एकअर्कामा भिडाएर समाप्त पार्ने हो । त्यसका दुईवटा गोटी मध्ये पहिलो, माधव नेपाल र दोश्रो प्रचण्ड हुन् । माधव र प्रचण्ड दक्षिणपन्थीका सेवक नभएका भए नेपालमा एउटा बलियो कम्युनिष्ट पार्टीको सरकार कम्तिमा २० बर्षसम्म कायम रहन्थ्यो । किनकी जनमत कम्युनिष्टकै पक्षमा थियो । तर विदेशीलाई जसरी पनि कम्युनिष्ट सिध्याउनुपर्ने, त्यसका लागि ओलीमाथि प्रहार नगरी नहुने । सजिला गोटी फेला पारे, माधव नेपाल र प्रचण्ड ।

एमाले र ओलीलाई सिध्याउन त माधव र प्रचण्डले सकेनन्, सक्दैनन् पनि । तर वामपन्थीले देश चलाउन सक्दैनन् भन्ने निश्कर्षको नेतृत्व उनीहरुले गर्दैछन् । यो सरकारले नेपाल र नपालीको होइन, त्यही विदेश डिजाइनको काम गरिरहेको छ । त्यसअर्थमा माधवले एमाले फुटाउने अर्को औचित्य पनि प्रमाणित गरेका छन् ।

एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाललाई भने फुटको औचित्य प्रमाणित गर्न नसकेको भन्ने लागेको छ । किनकी उनले अध्यक्ष बन्न पाएनन् र बरिष्ठ नेताको काम न काजको पगरी गुथेका मात्र छन् । पार्टीबाट मन्त्री हुनेहरु, दलाली गरेर जोहो गर्नेहरु र प्रत्यक्ष लाभ पाएकालाई पार्टीको फुटको औचित्य पुष्टी भएको छ, नपाएकालाई औचित्य पुष्टी भएको छैन । तर माधव नेपालको बिषय फरक हो । सवैले पार्टी छाडेर एमालेमा फर्किए वा दायाँबाया लागेभने र पार्टीमा एकमात्र कार्यकर्ताका रुपमा अध्यक्ष नेपाल रहेपनि औचित्य प्रमाणित हुने देखिन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : ०० बजे