महासचिव शङ्कर पोखरेलकाे नेतृत्वमा एमाले उच्चस्तरीय टोली चीन जाँदै



काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावनापूर्ण भ्रमणका लागि शनिबार त्यसतर्फ जाने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने सो पार्टीका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले आज विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

भ्रमण टोलीमा एमाले महासचिव पोखरेल, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम र पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह छन् ।

यस्तै केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा अध्यक्ष तथा अखिल नेपाल महिला संघ टुकाभद्र हमाल तथा केन्द्रीय सदस्यहरू सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरुङ, अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई र कपिलदेव पोखरेल छन् ।

साथै, जिफन्ट महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भूषाल, राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमाकुमारी डीसी सदस्य छन् ।

यस्तै सचिवालयका रूपमा राजेश राई र सरोजकुमार रेग्मी पनि भ्रमण दलका सदस्य छन् ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङ्छिङ्, बेइजिङ र छिङ्हाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : १७ बजे