बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस्



जनकपुरधाम । एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै । जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ । लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै । ‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा भण्डार’, ‘असली बुढो वैद्यनाथ बाजेको पेडा पसल’, ‘उही पुरानो वैद्यनाथ बाजेको पेडा पसल’, ‘वैद्यनाथ बाजेको पेडा भण्डार’, ‘वैद्यनाथ बाबाको पेडा पसल’, ‘श्री वैद्यनाथ साहको पेडा भण्डार’ यस्तैयस्तै पसल अनेक तर नाम एक ।

अगाडि होस् या पछाडि ‘वैद्यनाथ बाजे’ हरेक पसलको साझा पहिचान हो । त्यो देखेर एकछिन् त जो कोही अलमलमा पर्छन् । त्यस्तै अलमलमा थिइन्, काठमाडौँबाट इलाम जाँदै गरेकी रोशनी राई । “वैद्यनाथ बाजे को हुन् ? सबै पसल उहाँकै हुन्”, स्थानीय एक व्यापारीलाई राईले सोध्दै थिइन् ।
जवाफ आयो, “हैन ।”,
“अनि वैद्यनाथ बाजे को त ?”

जवाफमा पसले भन्दै हुनुहुन्थ्यो, “यस ठाउँमा पेडा व्यापार सुरु गर्ने मान्छे ?”

रोशनीले मात्रै होइन, पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया पुगेका वा सो सडक भएर यात्रा गर्नेहरुको मनमा यस्तै जिज्ञासा जाग्दो रहेछ । लहरै रहेका यी पसलहरुले मन लोभ्याउँछन् । गाडी नरोकेर धरै पाइन्न । अनि कुरौनी र पेडा किन्यो । पसल अगाडि टक्क रोकियो र तस्बिर लियो । यस्तै दृश्य देखिन्छन् यहाँ ।

स्थानीय अभिषेक साहले भने, “सबैले सोध्छन् पसल अनेक तर नाम एउटै कसरी ? जवाफ त पाउँछन् तर असली वैद्यनाथ बाजेको पेडा पसल पहिचान गर्नै हम्मेहम्मे हुन्छ ।” ‘बरमझियाको पेडा’ धेरै नेपालीले सुनेकै नाम हो । मधेस प्रदेशको पूर्वी सिमाना पूर्व–पश्चिम् राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–२ मा अवस्थित बरमझिया यही ‘पेडा’ का कारण चर्चामा छ । तर यहाँ पहिलो पटक आउनेहरु भने राजमार्गको दुवै किनारमा खुलेका पसलहरुको मिल्दोजुल्दो नामले वैद्यनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन् ।

“धेरै जना वैद्यनाथ बाजेको पेडा पसल चाहर्दै आउँछन्, कतिपय वैद्यनाथ बाजेलाई नै खोज्न आइपुग्छन्”, विगत २० वर्षदेखि तीनै वैद्यनाथ साहको पसलमा काम गरेका कालिगड गोविन्द साहले भने, “बाजे नदेखेपछि खिन्न मान्नुहुन्छ । देख्न पाएको भए कति राम्रो हुन्थ्यो भनेर पछुताउनुहुन्छ । के गर्नु, दैवले खोसेर लगिसक्यो ।”

‘पेडा भनेकै वैद्यनाथको’
वैद्यनाथ साह बरमझियामा पेडाको ‘ब्रान्ड’ स्थापित गर्ने व्यक्ति हुन् । सुरुमा उनका बुबा अक्कल साहले गाउँमै चिया पसल सुरु गरेका थिए । त्यही पसलमा छोरा बैजनाथले पनि सघाउँथे । एकपटक उनी कामको सिलसिलामा भारततिर गए । त्यही बेला दूधबाट चियाबाहेक कराउनी र पेडा बनाउन सकिन्छ भनेर थाहा र्पा । “हामीलाई सुनाउनुभएअनुसार भारत भ्रमणमा जाँदा पेडाबारे थाहा पाएर फर्केपछि चिया पसलमा आउने दूधबाट कुराउनी र पेडा बनाउन थाल्नुभएको थियो । विसं २०१५÷१६ तिर त्यसलाई व्यावसायिक रुप दिनुभएको होे”, हाल बाजेको बिडो थामिरहेका नाति विवेक साहले भने, “चिया पसल हाम्रो बुढो हजुरबुबाले धेरै पहिलेदेखि नै चलाइरहनुभएको थियो । बाजेले त्यसैमा पेडाको व्यापार गर्न थाल्नुभयो । अहिलेको स्थानमा त पूर्व–पश्चिम राजमार्ग खुलेपछि मात्रै व्यापार सुरु गरिएको हो ।”

समय क्रममा स्थानीयमा पेडाप्रतिको रुचि बढ्दै गयो । राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्व–पश्चिम यात्रा गर्नेहरुसँगै देशभर पुग्यो । पसल थपिए, बजार बढ्दै गयो । बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो । “पसल खोलेर बसेका अधिकांशले बाजेबाटै काम सिकेका हुन् तर नाम फरक राखे पनि त हुन्थ्यो । अहिले त हाम्रो पसल नै ओझेलमा पर्ने गरी ठूलाठूला अक्षरमा नाम लेखेका छन् । यसले ग्राहकहरुलाई अल्मल्याउने काम भएको छ”, विवेकको गुनासो छ,“नामले मात्रै त व्यापार चल्ने होइन, बरु ग्राहकहरु अलमलमा पर्छन् । अस्वस्थ प्रतिस्पर्धा बढ्छ ।”

‘पेडा भनेकै वैद्यनाथ बाजेको’ भन्ने भाष्य स्थापित गरेका साह अहिले हामीमाझ छैनन् । उनले ११ वर्षअघि २०६९ साउन १८ गते देहत्याग गरिसके । त्यसपछि पसलको नाममा वैद्यनाथ झुण्ड्याउने चलन झनै बढेको छ ।

बाजेको देहावसानपछि दुई छोरामध्ये कान्छोतर्फका जेठो नाति विवेकले व्यापार सम्हालिरहेका छ् । विवेकको हार्डवेयर पसल पनि छ तर पेडा पसलमा बस्नुको आनन्द नै छुट्टै हुने उनको अनुभव छ । उनले भने, “पूर्वमेचीदेखि पश्चिम महाकालीका मान्छेहरु आउँछन् । तीमध्ये पहिलो पटक आएका धेरै जना अरुलाई सोध्दैसोध्दै पसलमा आइपुग्छन् । बाजे, पेडा, आम्दानी, छ्यापछ्याप्ती खुलेका पसलबारे बुझ्न खोज्छन् । त्यसैले व्यापार र चिनजान दुबै हुन्छ, यसैमा आनन्द लाग्छ ।”

साहलाई आफ्नो बाजेको नाममा ठूलाठूला होर्डिङ्गबोर्डसहित खुलेका पसलहरु देख्दा आनन्द लाग्छ तर जब ग्राहकले तपाईको पसल खोज्नै मुस्किल भयो भनेर सुनाउँछन् तब नरमाइलो लाग्छ । “कहिलेकाही आफैँ पनि बाहिर निस्केर हेर्छु मेरै पसल बिर्साउने गरी बाजेको नाममा पसल खुलेका छन् । बाजेको निधनपछि त नाम मात्रै होइन ‘असली पेडा पसल’ आफ्नै हो भने जसरी बोर्डमा बाजेको तस्वीर पनि राख्न थालियो”, उनले सुनाए,“अहिले भने हामीले पसल अगाडि बाजेको शालिक निर्माण गरेका छौ । त्यसले पसल पहिचानमा केही सहज त भएको छ तर फेरि त्यही पनि नक्कल गर्लान् कि भन्ने पीर छ ।”

एक व्यक्तिले एउटा पसलबाट सुरु गरेको पेडा व्यापार अहिले एक सयभन्दा बढीले सुरु गरेका छन् । ती पसलहरुमा सयौंले रोजगारी र स्थानीय दूध उत्पादक किसानले बजार पाएका छन् । संस्थापक वैद्यनाथ बाजेको पसलमा मात्रै दैनिक पाँच सय लिटरसम्म दूधको खपत हुने गरेको छ । यहाँ सप्तरी, सिरहा, सुनसरीलगायतका जिल्लाबाट दूध सङ्कलन हुने गरेको स्थानीय व्यापारीहरुको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ३ : ५६ बजे